निर्वाचनअघि संविधान संशोधन असंभव : प्रधानमन्त्री

काठमाडौं : राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए चुनावी प्रक्रियामा भाग नलिने बताइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्वाचनअघि संविधान संसोधन सम्भव नभएको बताएका छन्। शुक्रबार संसद बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिंदै राजपाका नेताहरुले आफ्नो माग पूरा भए मात्र निर्वाचनमा सहभागि हुने भन्दै माग पूरा गर्न नवनिर्वाचित प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, आजै संसद भवनबाटै देउवाको यस्तो उत्तर आएपछि राजपा झन अन्यौलमा परेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि मात्र संविधान संसोधन हुने बताएका हुन्। संविधानको स्वीकार्यता बनाउन संसोधन आवश्यक भएको भन्दै विपक्षीदलको पनि यसमा साथ चाहिने उनले बताए। प्रधानमन्त्री देउवाले भने–‘संविधानको स्वीकार्यता बनाउनुपर्छ। मधेसमा आन्दोलन भयो। उनीहरुलाई पनि संविधानको अपनत्व बनाउनपर्छ। यसको लागि विपक्षी दलको साथ चाहिन्छ। अब निर्वाचनअघि संविधान संसोधन सम्भव छैन। निर्वाचनलगत्तै संविधान संसोधन गर्न प्रयास हुनेछ ।’ सम्पूर्ण मागका विषयमा निर्वाचनपछि छलफल हुने भन्दै प्रधनमन्ी देउवाले राजपालाई निर्वाचनमा आउन आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित