गण्डकीलाई गाल्दै कोरोना, हालसम्म ७ सय २९ जनामा संक्रमण, १ को मृत्यु

Gandaki

काठमाडौं । नेपालको गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । मंगलबार साँझ मात्र १ सय ४ जनामा देखिएको कोरोना भाइरसको संक्रमण बुधबार बिहान थप ३२ जनामा देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले जनाएअनुसार लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

यसअघि मंगलबार मात्र १ सय ४ जनामा कोरोना देखिएको निर्देशनालयले पुष्टी गरेको थियो । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा फैलिइसकेको कोरोना अहिलेसम्म रसुवामा पोजेटिभ देखिएको छैन ।

हिमाल पारिको जिल्ला भनिने मनाङ र मुस्ताङमा समेत देखिएको कोरोनाका कारण हालसम्म ७ सय २९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म ८ हजार ७ सय ५१ जनाको पीसीआर परिक्षण गरिएकोमा ७ हजार ६५ जनालाई संक्रमण देखिएको छैन भने ९ सय ५७ जनाको रिपोर्ट आइसकेको छैन । अहिलेसम्म संक्रमितमध्ये ९१ जना कोरोना निको भएको जनाइएको छ भने १ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसोसम्म देशभर १० हजार ९९ जना संक्रमित भएको र २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित