पर्यटनमन्त्रीको कार्यक्रममा अश्लील भिडिओ; विज्ञ भन्छन्, 'डिजिटल सुरक्षा साक्षरता आवश्यक'

paryatan

 

पर्यटनमन्त्री योगेश भट्टराई सहभागी रहेको नेपाल पर्यटन बोर्डको इन्टरनेटबाट गरिएको कार्यक्रम अश्लील भिडिओ देखिएका कारण बीचमै रोकिएको विवरण आएपछि डिजिटल सुरक्षाको विषयमा फेरि प्रश्न उठेको छ।

सोमवारको सो घटनापछि नेपालको सरकारले साइबर सुरक्षाको कमजोर अवस्था सुधार्न ठोस कदम चाल्न नसक्दा समस्या देखिने क्रम नरोकिएको जानकारहरूले बताएका छन्।

मुलुकका महत्त्वपूर्ण सरकारी निकायका वेबसाइट र तथ्याङ्क राखिने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा ह्याक भएका घटनाहरू सार्वजनिक हुनुले नेपालको अवस्था कति कमजोर छ भन्ने देखाएको विज्ञहरूको मत छ।

निजी क्षेत्रको वर्चस्व रहेका प्रणालीहरूको अवस्था पनि कमजोर रहेको र डिजिटल सुरक्षासम्बन्धी आधारभूत साक्षरताको अभाव रहेको बताइएको छ।

डिजिटल नलेज म्यानेजमेन्ट विशेषज्ञ हेमपाल श्रेष्ठका अनुसार नेपालमा डिजिटल सामग्रीका प्रयोगकर्ताहरू बढेको भए पनि प्रविधि कसरी सुरक्षित प्रयोग गर्ने भन्ने जानकारी भएका व्यक्तिहरूको सङ्ख्या निकै कम छ।

बालबालिकादेखि वृद्धवृद्धाले समेत प्रविधिको प्रयोग गर्नुपर्ने अवस्थाबीच सरकारले नीति निर्माणमा ध्यान दिनुपर्ने र 'डिजिटल फर्स्टु भन्ने कुरा नारामा मात्रै सीमित राख्न नहुने उनी बताउँछन्।

श्रेष्ठ भन्छन्, 'निजी, सामुदायिक तथा सरकारी क्षेत्रमा प्रविधिको प्रयोग गरेर सेवा दिनुपर्छ। त्यसले सबैलाई प्रविधि प्रयोग बारे ज्ञान दिन सहज हुन्छ।'

'त्योसँगै सुरक्षा कसरी मजबुत बनाउने भन्ने विषय पनि सँगसँगै अघि बढाउनुपर्छ।' डिजिटल सुरक्षाका लागि जागरूकता, क्षमता र सहकार्य आवश्यक रहने श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, 'यी सब काम गर्न सूचना प्रविधिका क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको आवश्यकता पर्छ।''सूचना प्रविधि संवेदनशील पूर्वाधार भइसक्यो। सूचना प्रविधिसम्बन्धी विषयहरू क्षणक्षणमा विकसित भइरहन्छ।'

जानकारहरूका अनुसार सुरक्षा र प्रतिरक्षासम्बन्धी कार्य चौबिसै घण्टा गर्नुपर्ने हुन्छ। र त्यो सूचना प्रविधिको हकमा पनि लागु हुन्छ। 'तर पनि सुरक्षाको प्रत्याभूति भनेको १०० प्रतिशत नै भने हुँदैन। डिजिटल सुरक्षा चुस्त बनाउन निरन्तर काम गरिरहनुपर्ने हुन्छ,' श्रेष्ठले भने।

सूचना प्रविधिका विषय चलायमान बनाउन सामान्य ज्ञान भएका जनशक्ति पर्याप्त रहे पनि त्यस्तो ढाँचा बनाउन भने विज्ञहरूको आवश्यकता पर्ने उनको भनाइ छ।

'सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा सरकारले पनि त्यसतर्फ ध्यान बढाएको बताउँछन्।

विभिन्न सरकारी निकायहरूले सफ्टवेअर तथा हार्डवेअरमा लगानी गरेको र सूचना प्रविधिका विषय हेर्न विभिन्न संरचना गठन गरिएको उनको भनाइ छ।

'पछिल्लो समय हामीले राष्ट्रिय सूचना प्रविधि केन्द्रको जुमजस्तै सफ्टवेअर प्रयोगमा ल्याएका छौँ,' उनले भने। त्यसबाहेक प्रत्येक सरकारी निकायमा सूचना प्रविधि फोकल पर्सनको व्यवस्था गरिएको दत्तको भनाइ छ।

सूचना प्रविधिको प्रयोग बढिरहेका बेला सरकारले गरेका व्यवस्था पर्याप्त नरहेको भने उनी स्वीकार्छन्। 'डिजिटल नेपालका लागि थप बजेटको पनि आवश्यकता छ,' उनले भने। -बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित