सुदूरपश्चिममा कोरोनाः नौ वर्षमुनिका १७५ बालबालिकामा कोरोना संक्रमण

sururpaschim
धनगढी । विश्वका अन्य देशहरुमा वृद्धहरुलाई धेरै लागेको तथ्यांक सार्वजनिक भएको कोरोना भाइरसका कारण नेपालमा भने युवा पुस्ता र बालबालिकामा संक्रमण धेरै देखिएको छ । हालसम्म १३ हजार ५ सय ६४ संक्रमित पुगेको नेपालको सुदूरपश्चिममा मात्र १ सय ७५ जना नौ वर्षभन्दा कम उमेरका बालबालिकामा संक्रमण देखिएकोछ । यो तथ्यांक हेर्दा नेपालमा कोरोनाका कारण बालबालिका पनि धेरै प्रभावित बन्न पुगेको देखिएको छ ।

सुदूरपश्चिमका बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत एक सातामा मात्रै सुदूरपश्चिममा ६१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताएका छन् ।

उनले ती संक्रमित बालबालिकाहरु सबै भारतबाट फर्किएको जनाएका छन् । मजदुरीका लागि भारत गएका बाबुआमा नेपाल फर्कने क्रममा सँगै आएका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको उनले बताए ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने कोरोना मुक्त भइ फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।”

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित