भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने प्रतिबद्धता

bhaktapur

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताएकी छिन् ।

परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा थापाले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताइन् ।

कार्यक्रममा परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले अनुसन्धानलाई असर पर्ने र कतिपय केही दिन गोप्य राख्नुपर्ने घटना हतारिएर सम्प्रेषण नगरिदिन उनले आग्रह गरे ।

जगाती प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले लकडाउन कायमै रहेकाले पास नभएका र आवश्यक प्रक्रिया पूरा नगरी पूर्वबाट आएका यात्रुलाई साँगा नाकाबाटै फर्काउने गरेको बताए । उनले काठमाडौंँका लागि झापादेखि विभिन्न जिल्ला पार गर्दै आएका यात्रुलाई साँगाबाट फर्काउनु पर्दा दुःख लाग्ने गरेको बताउँदै शुरुको पालिकाले नै प्रक्रिया नपुगेका सवारी साधनलाई काठमाडौंँ पठाउन रोक्नुपर्ने औंल्याए ।

असार ८ गतेदेखि १४ गतेसम्म विभिन्न साधनामा काठमाडौँं आएका एक हजार ५०३ जनालाई साँगाबाट फर्काइएको बताउँदै प्रनाउ जोशीले लकडाउन शुरु भएपछि गाउँ फर्किएजस्तै अहिले काठमाडौँ फर्कनेहरुको लर्को लाग्ने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित