‘ह्वाट द फ्लप’का सञ्चालक सन्दिप क्षेत्रीविरुद्ध उजुरी

mithailal

काठमाडौं । हाँस्य कलाकार सन्दिप क्षेत्रीबिरुद्ध पर्सा प्रहरीमा उजुरी परेको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ब्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’मार्फत मधेसी समुदायलाई होच्याउने, उडाउने र गालीगलोज गर्ने कार्य गरेको भन्दै उनीविरुद्ध जिल्लाप्रहरी कार्यालय, पर्सामाजाहेरी परेको हो । कलाकार सन्दिपलाई पर्सास्थित छिपहरमाईका अशोककुमार कुशवाहले प्रहरीमा जाहेरी दिएका हुन् ।

कुशवाहको जाहेरीमा सन्दिपले मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गरेको आरोप लगाइएको छ । सन्दिपले कार्यक्रममार्फत मधेशी महिलालाई जिस्क्याउँने, होच्याउने, अपमान गर्ने र अमर्यादित कार्य गर्ने गरेको आरोप समेत लगाइएको छ ।

‘पहिला पनि हामीले बिरगञ्जको कार्यक्रममा भेट हुँदा यस्तो खलल आउने खालका अभिनय नगर्न भनेर सम्झाएका थियौं तर उहाँले मान्नुभएन,’ जाहेरीकर्ता अशोकले भनेका छन्, ‘उहाँले मधेशी महिलाहरुलाई होच्याएका शब्दहरु प्रयोग गर्नुभयो । महिला पुरुष बराबर हुन् भन्ने सन्देशभन्दा पनि दरार आउने किसिमको मजाक गर्नुभयो । त्यसैले सचेत गराउन प्रहरीमा उजुरी दिएका हौं ।’ उनले नेपाली सबै एकै भएको भन्दै मधेशी र पहाडी भनेर होच्याएको ठिक नलागेको बताए ।

उजुरीकर्ता अशोकका अनुसार उजुरी पत्र हुलाकमार्फत धेरैतिर पठाइएको छ । यस विषयमा सन्दिपले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, अनुहारमा कालो मोसो दलेर मिठाइलाल ज्यादबको चरित्र निर्वाह गर्दा उनीमाथि रंगभेदको समेत आरोप लाग्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित