महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन मिल्दैनः प्रधानमन्त्री ओली

KP-OLI-1

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको बताएका छन् ।

बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा राष्ट्रका् नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तीको नेपाल सँधै उच्च जोखिममा रहेको बताए ।

उनले भने, ‘हरेक बर्ष गर्मी याममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र बर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ । विपदमा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतीजस्तै बन्ने गरेको छ । यस क्रममा सरकारले तत्काल उद्दार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामथ्र्यका साथ ध्यान दिदैं आएको छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो शुरु भएदेखि नै तत्परताका साथ उद्दार र सहयोग कार्यमा जुट्दै आएका छन । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ ।’

मुलुकमा आउने जुनसुकै संकटको समयमा आफ्नो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उनले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ नमिल्ने बताए । जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्नेमा जोड दिँदै ओलीले सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित