निर्मला पन्त बलात्कार प्रकरण : एसपी विष्टसहित ८ जना प्रहरीले पाए सफाइ

SP-Dilliraj-Bista
काठमाडौं ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।  १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछिको घटनामा लापरबाही गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई अदालतले सफाइ दिएको छ ।

यस्तै घटनामा संलग्न भएको आशंकामा प्रहरी हिरासतमा रहेका बेला दिलीप सिंह विष्टमाथि यातना दिएको भन्ने अभियोग पनि पुष्टि नभएको अदालतले बताएको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोला को इजलाशले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।

निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै उनीहरुविरुद्ध जाहेरी दिएका थिए। उक्त मुद्दा ०७५ फागुन २२ मा दर्ता भएको थियो।

जिल्ला अदालतको पछिल्लो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी अब सेवामा फर्कने बाटो खुला भएको छ। तर, विष्ट र भट्टलाई भने बर्खास्तीमा परेकाले सेवामा फर्किन नपाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित