नगरबासीका नाममा कोरोना जोखिमबाट बच्न सूर्यबिनायक नगरपालिकाको ८ बुँदे अपिल

Suryabinayak

भक्तपुर । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विशेष ध्यान दिँदै सूर्यविनायक नगरपालिकाले नगरवासीको नाममा ८ बुँदे विशेष अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण संख्यात्मक रुपमा वृद्धि भएको तथ्यांकले देखाउन थालेको छ । मृत्यूदर समेत विगतभन्दा वढि हुन थालेको अवस्था छ । सूर्यविनायक नगर क्षेत्रको वडा नं. १ को सिरुटार, वडा नं. २ को वालकोट, वडा नं. ४ को दधिकोट, वडा नं. ५ कटुञ्जे, वडा नं. ६ को पाण्डुबजार र वडा नं. ८ को सूर्यविनायक चोक क्षेत्र आसपास कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन वढि रहेको तथ्यांकले देखाएको भन्दै नगरपालिकाले नगरवासीलाई विशेष अनुरोध गरेको हो ।

कोरानो भाइरसको संक्रमण समुदायस्तरमा नै फैलिएको आशंका छ । अव ब्यक्ति, समूह र टोलको जिम्मेवारी कोरोना भाइरस थप समुदायस्तरमा फैलिन नदिन सहयोग, समन्वय र थप स्वास्थ्य सर्तकताका मापदण्ड पालना गर्नुपर्नेछ । यसमा नगरपालिकाको एक्लो प्रयास मात्र संभव हुने देखिदैन । यसर्थ, अवका दिनमा कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिन नदिन र यसलाई नियन्त्रणमा राख्न सूर्यविनायक नगरपालिका आम नगरवासीहरुमा हार्दिक अपिल गरेको छ ।

नगरपालिकामा समेत कोरोनाको संक्रमण वृद्धि हुँदै गएपछि नगरपालिकाले नगरवासीलाई विशेष अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार नगवासीको नाममा गरिएका ८ बुँदे विशेष अनुरोध निम्नानुसार रहेका छन्,

१) कोरोना भाइरसको संक्रमण थप समुदायस्तरमा फैलिन नदिन सामााजिक दुरी कायम गरौं । एक परिवार र अर्को परिवार, एक घर र अर्को घर, एक टोल र अर्को टोल बीचमा समेत सामाजिक दुरी कायम गरौं । अत्यावश्यक काम वाहेक घरबाट वाहिर ननिस्कऔं । घरबाट वाहिर जानै पर्ने अवस्था भएमा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं । वेला वेलामा सावुन पानीले मिचि मिची हात धोयौं । आफू पनि बचौं, अरुलाई पनि वचाऔं ।

२) कारोना भाइरसको संक्रमण पुष्टी भएका घरहरु वडा प्रतिनिधि तथा सुरक्षा निकायको सहयोगमा सिल गरिएको छ । यस्ता घर परिवारका सदस्यहरु पिसिआर नतिजा नेगेटिभ नआएसम्म घर भित्रै आइसोलेशनमा वसौं । यस्ता घर परिवारका सदस्यहरुलाई घरबाट वाहिर जानै नपर्ने वातावरणका लागि छिमेकी, टोलवासी वा वडा समितिबाट अत्यावश्यक खाद्य सामाग्री र औषधि घर कम्पाउण्ड भित्रै पुर्याउन सहयोग गरिनेछ । निजहरुको स्वास्थ्य तथा अन्य दैनिक अत्यावश्यक सामाग्रीहरुको वारेमा सामाजिक दुरी कायम गर्दै टेलिफोन वा मोवाइल वा अन्य माध्यमबाट जानकारी दिई खरिद गर्न सहयोग गरौं ।

३) नगरपालिकाबाट कारोना भाइरस संक्रमणका संभाव्य जोखिम रेखा भित्र रहेका व्यक्ति तथा परिवारहरुको पहिचान गर्ने कार्य वडा समितिको सहयोगमा स्वास्थ्य संस्था मार्फत दैनिक रुपमा गरिदै आएको छ । यस्ता ब्यक्तिहरुको स्वाव संकलन नगरपालिकाबाट खटिएका स्वास्थ्य टोली मार्फत घर घरमा नै गरिदै आएको छ । संभाव्य जोखिम रेखा भित्र रहेका ब्यक्ति तथा परिवारका सम्पूर्ण सदस्यहरु स्वाव संकलन गरेदेखि नतिजा नआउदासम्म घरमा नै आइसोलेशनमा वसौं ।

४) अत्यावश्यक वस्तु तथा सेवा मध्ये औषधि, पानी र स्वास्थ्य सामाग्री विक्रि वितरण गर्ने पसल व्यवसाय जुनसुकै समय खुल्ला रहन सक्नेछन् । खाद्य बस्तु, दुधजन्य पदार्थ, फलफुल, तरकारी विक्री वितरण गर्ने पसलहरु विहान ९ बजेर १५ मिनेट सम्म मात्र खुल्ला रहने भएकोले यस्ता पसलहरुबाट प्रयाप्त स्वास्थ्य सतर्कता अपनाई सामाजिक दुरी कायम गर्दै अत्यावश्यक खाद्य सामाग्रीहरु खरिद गर्नु होला । विहान ९ बजेर १५ मिनेट पछि यस्ता पसलहरु अनिवार्य रुपमा बन्द गरौं ।

५) साइकल, ठेलागाढा तथा घुम्ती फलफुल, तरकारी र खाद्यान्न व्यापार एवम् मासु पसलबाट संक्रमण जोखिम बढि फैलिने संभावना देखिएकोले अर्को सूचना नभएसम्म यस्ता व्यापारहरु नगर क्षेत्रमा पूर्ण निषेध गरिएको छ । निषेध गरिएका ब्यवसाय, पसल तथा अन्य यस्ता क्रियाकलाप भए गरेको देखिएमा तत्काल वडा प्रतिनिधि, नगर प्रहरी तथा नेपाल प्रहरीलाई खवर गरौं ।

६) पिसिआर पोजेटिभ भई सिल गरिएका घर परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या भएमा त्यस्ता परिवारका सदस्यले वडा प्रतिनिधिलाई सम्पर्क गरौं । घरमा नै स्वास्थ्य टोली मार्फत स्वास्थ्य परीक्षण र औषधिको ब्यवस्था वडा स्थित स्वास्थ्य संस्था मार्फत उपलब्ध हुनेछ । गंभीर स्वास्थ्य समस्या भएमा अस्पतालसम्म लैजाने ब्यवस्था समेत मिलाइएको छ ।

७) कोभिड १९ संक्रमणको जोखिम हामी सबैमा छ । कतिपय स्थानमा पिसिआर पोजेटिभ देखिका ब्यक्ति, परिवार, स्वास्थ्य कर्मी र डाक्टरहरुलाई असामाजिक ब्यवहार, अपहेलना र दुव्र्यवहारका घटना देखिन सुनिन आएको छ । भोली संक्रमण जोखिम हामीहरु सबैका बीचमा पनि आउन सक्दछ । यसर्थ, पिसिआर पोजेटिभ देखिएका ब्यक्ति तथा परिवार एवम् पेसाकर्मी बीचमा सामाजिक दुरी कायम गर्दै सामाजिक सद्भाव र सहयोग गर्ने, मनोवल र उत्प्रेरणा उच्च बनाइदिने, हौसला प्रदान गर्ने, अत्यावश्यक सामाग्री, औषधि तथा वैकल्पिक उपचार पद्धति जस्तो योग, ध्यान र आत्मबल बलियो बनाउन सहयोग र सल्लाह दिने जस्ता मावन कल्याणकारी कार्यमा लाग्न आम नगरवासीहरुमा नगरपालिका हार्दिक अपिल गर्दछ । यदि कसैले दुव्र्यवहार, अपहेलना वा असामााजिक व्यवहार गरेको पाइएमा कानून बमोजिम कडा भन्दा कडा कारवाही समेत गरिनेछ ।

८) शंकास्पद संक्रमितको सम्पर्कमा रहेका व्यक्ति, परिवार तथा टोलवासी घरमै सुरक्षित वसौं । स्वास्थ्य सम्वन्धी कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राखौं । नेपाल सरकारले घोषणा गरेको निषेधाज्ञाको पूर्ण पालना गरौं र पालना गर्न सबैले सहयोग गरौं ।

 

प्रतिक्रिया

सम्बन्धित