भदौ १६ गते अन्तर्राष्ट्रिय उडान खुले नेपाल आउन पाउनेहरू ?

111 RA

सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानहरू खुला गर्ने निर्णय गरिसके पनि कहाँबाट कसकसलाई नेपाल आउने अनुमिति दिने भन्ने विषयमा गृहकार्य भइरहेको जनाएको छ।

यसअघि सरकारले भदौ १ गतेबाट उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो। तर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उडान पुनः सञ्चालनको मिति पर सारिएको थियो।

नियमित उडान बन्द भएको भए पनि बेलाबखत चार्टर्ड उडानहरू भने हुँदै आएका छन्।

कतिपय देशले आफ्ना नागरिकलाई नेपालबाट चार्टर गरिएका विशेष उडानमार्फत् लगेका छन् भने नेपाल सरकारले पनि विभिन्न देशबाट आफ्ना नागरिकलाई स्वदेश फर्काएको छ।

को-को आउन पाउँछन्?

विदेशमा कार्यरत नेपालीबाहेक केही गैरआवासयीय आवासीय नेपालीहरूले पनि नेपाल आउन खोजेको बताइन्छ।

तर उनीहरूको हकमा अहिलेसम्म टुङ्गो लाग्न बाँकी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन्।

“नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी र गैरआवासीय नेपालीलाई आउन दिने भन्नेबारे कुरा चलिरहेको छ, तर अन्तिम टुङ्गो चाहिँ लागिसकेको छैन,” मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले सोमवार बीबीसी न्यूज नेपालीलाई भने।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाली नागरिक र कूटनीतिक नियोगका पदाधिकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका कर्मचारीबाहेक अन्यको हकमा सोमवारसम्म कुनै निर्णय भइसकेको छैन।

“अहिलेसम्म सरकारले हामीलाई दिएको म्यान्डेटअनुसार नेपाली नागरिकबाहेक गैरआवासीय नेपाली लगायतलाई आउन दिने कुराको कल्पना गरिएको छैन," उनले थपे।

कहाँकहाँबाट उडान?

प्रवक्ता भट्टराईका अनुसार नेपाली नागरिकहरू बढी भएको र उद्धार गर्नुपर्ने अवस्थामा रहेका देशहरू पहिलो प्राथमिकतामा पर्नेछन्।

तर त्यसबारे पनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको प्राधिकरणका प्रवक्ता क्षेत्री बताउँछन्।

“तर कुनकुन देशलाई र वायुसेवा कम्पनीलाई दिने भन्नेबारे मन्त्रालयमा गृहकार्य भइरहेको छ,” उनले भने।

“यसअघि भदौ १ गतेदेखि सञ्चालन हुन दिने भनिएकोमा नेपाल वायुसेवा निगम र हिमालयन एअरलाइन्ससहित ११ वटाले उडान गर्नका लागि आवेदन दिएका थिए।”

प्रवक्ता क्षेत्रीका अनुसार पीसीआर परीक्षण गर्न गाह्रो देखिएका खाडी मुलुकहरू कतार साउदी अरब र कुवेतको हकमा हाललाई उडान अनुमति नदिने कुरा छ।

 “ती देशहरूमा रेस्क्यू फ्लाइट गर्ने अहिलेसम्मको निर्णय छ, शेड्यूल फ्लाइटबारे कुनै निर्णय भइसकेको छैन।”

मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नियमित उडानमार्फत् शुल्क तिरेर यात्रीहरू आउन पाउनेछन्।

दैनिक ७०० जनाभन्दा बढी यात्रु ल्याउन नपाउने गरी उडान गर्नुपर्ने भनिएको छ।

के छन् नेपाल फर्किन र फर्केपछिका सर्त?

अधिकारीहरूका अनुसार नेपाल आउनलाई फर्किनेहरूले केही सर्तहरू पूरा गर्नुपर्ने हुन्छ।

“उड्न लागेको ठाउँको विमानस्थलमा ७२ घण्टाको भ्यालिडिटी भएको पीसीआर रिपोर्ट देखाउनुपर्ने र होटल बुकिङ गरेको कागजपत्र देखाउनुपर्ने हुन्छ। त्यो गरेपछि मात्रै फर्किन पाइन्छ,” क्षेत्रीले भने।

नेपाल फर्केपछि पनि उनीहरूले पीसीआर रिपोर्ट देखाउनुपर्ने हुन्छ भने नेपाल सरकारले बनाएका क्वारन्टीनसम्बन्धी नियमको पालना गर्नुपर्ने उनी बताउँछन्।

“नेपाल सरकारले सुझाएका होटल अथवा क्वारन्टीनस्थलमा सात दिन अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने हुन्छ। तिर्न सक्नेले तिर्नुहुन्छ र नसक्नेको हकमा सरकारले केही व्यवस्था गर्ला।”

के भन्छन् जनस्वास्थ्यविज्ञ?

बाहिरबाट आउनेहरू सङ्क्रमित छन् भने ती समुदायमा जान नपाऊन् भन्ने मुख्य उद्देश्य हुनुपर्ने जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त बताउँछन्।

“यदि ७२ अघिसम्मको पीसीआर रिपोर्ट नेगेटिभ छ भने क्वारन्टीनमा राख्नुपर्छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्दैन,” उनी भन्छन्।

क्वारन्टीनमा राख्दा सम्बन्धित व्यक्तिमाथि पर्न सक्ने आर्थिक भार लगायतका कुरा पनि रहेको उनको तर्क छ।

यद्यपि विशेष सावधानीका लागि भनेर त्यसरी क्वारन्टीनमा राख्न खोज्नु अनुचित नभएको उनको धारणा छ।

 

प्रतिक्रिया

सम्बन्धित