अमेरिकामा सामुद्रिक आँधी लराका कारण निकै क्षति, चार जनाको मृत्यु

Lara_

अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ।

लरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ।

लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ।

करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ।

पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ। तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लाग्यो।

अहिले सो आँधी कमजोर बनेको बताइएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ।

उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन्। उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए।

"हामीलाई अलिकति भाग्यले साथ दियो। आँधी निकै ठूलो थियो तर छिट्टै नै गइहाल्यो," उनले भने।

लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो।

अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भएपनि पहिले आशङ्का गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन्।

त्यहाँ रुख ढलेर लाग्दा चारजना मारिएको बताइएको छ। साथै लेक चार्ल्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आगलागी भएको छ।

आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ।

छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताए।

आँधी आउनु अगाडि टेक्ससका करिब ४२०,००० बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण-पश्चिम लुइजियानामा थप २००,००० जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो।

यो काम कोभिड-१९ को सङ्क्रमणले थप जटिल बनाइदिएको थियो।

टेक्ससको एक आश्रयस्थलमा गएका एरिक डवले रोयटर्सलाई भने: "हामीलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। तर आश्रयस्थलमा मैले कसरी सामाजिक दूरी कायम गर्ने?" -बीबीसी

प्रतिक्रिया

सम्बन्धित