देउवाले बोलाएको बैठकमा एमाले आएन, मधेशवादी दल भारतीय राजदूताबासतिर

काठमाडौं : सहमतीय सरकार गठनका लागि छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ भने राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू भने भारतीय राजदूतावास लैनचौर पुगेको खुलासा भएको छ ।  सरकार गठनको विषयमा छलफलका लागि आह्वान बैठकको पत्रको भाषामा नै असहमति जनाउँदै एमाले बैठकमा अनुपस्थित भयो भने राजपाका नेताहरु देउवाले बोलाएको बैठक छाडेर लैनचौरको छलफलमा पुगेका हुन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । राजपाका नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए ।अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । यद्यपि दूताबासमा के छलफल भयो भन्ने खुलेको छैन । सभापतिले देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका यता, नेताहरुसँग अहिले संसद् भवनमा आफ्नो नेतृत्वमा सरकार गठनका विषयमा परामर्श गरिरहेका छन्।  राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनको आह्वान गरे पनि देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको छलफलमा सहभागी हुन भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई पत्र लेखेका थिए। एमालेले भने पत्रमा खुला रुपमा छलफलको आह्वान नभई कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठनको एजेण्डा भएकाले बैठकमा सहभागी नभएको जनाइसकेको छ ।  एमाले बाहेकका अन्य दलहरुको बैठक भने संसद् भवन नयाँ बानेश्वरमा जारी छ।

प्रतिक्रिया

सम्बन्धित