पर्यटन र व्यापार कूटनीति सञ्चालन गर्न दुई छिमेकीसँग समदूरीको सम्बन्ध राखिने

काठमाडौँ । सरकारले चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्दै आर्थिक विकासको बाटामा मुलुकलाई अग्रसर तुल्याउन नीति अङ्गीकार गर्ने भएको छ ।

 आगामी आवका लागि आज सार्वजनिक भएको बजेटमा सरकारले दुई छिमेकी मुलुकले हासिल गरेको आर्थिक वृद्धिबाट मुलुकलाई लाभान्वित तुल्याउन आवश्यक नीति अवलम्बन गरिने उल्लेख छ ।

   परराष्ट्र सम्बन्धलाई प्रभावकारी बनाउँदै विश्व रङ्गमञ्चमा नेपालको उपस्थिति सारपूर्ण बनाउने तथा विदेशस्थित नेपाली नियोगलाई आर्थिक–श्रम –पर्यटन र व्यापार कूटनीति सञ्चालन गर्न क्षमतावान् बनाउने नीति अपनाइने भएको छ ।

 त्यसैगरी देशको आर्थिक विकासका लागि विश्वका विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण तथा प्रविधिका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गरिने तथा  अन्तर्राष्ट्रिय आर्थिक सहायता, राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा परिचालन गरिने भएको छ ।

  सङ्घीयता अनुकूल हुने गरी विकास सहायता नीति परिमार्जन, स्थानीय तह र प्रदेशमा अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने प्रक्रिया निर्धारण गर्ने तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारले तोकेको क्षेत्र र स्थानमा पारदर्शी रुपमा काम गर्ने व्यवस्थामा कडाइ गर्ने र सम्बन्धित स्थानीय तहले अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रमको अनुगमन गर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित