आधुनिक समाजमा आत्महत्या ठूलो चुनौतीः क्याम्पस प्रमुख पण्डित
काठमाडौं । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस – २०२० को अवसरमा पद्मकन्या बहुमुखी क्याम्पस अन्तर्गतको स्नातकोत्तर कार्यक्रम, मनोविज्ञान विभागले सप्ताहव्यापी जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।
विद्यार्थी, अभिभावक र सर्वसाधारणहरुका बीचमा आत्महत्या रोकथाम गर्नका लागि विज्ञहरुसँगको अन्तरक्रिया गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले गरेका थिए ।
उक्त अवसरमा पण्डितले आधुनिक समाजमा आत्महत्या एउटा ठूलो चुनौतीका रुपमा देखिएको बताए । पूर्वीय होस् या पाश्चात्य समाज दुवैमा द्वेष, विकार र तँछाडमछाडको प्रवृत्तिले सामाजिक सुरक्षाको उच्च विकास हुँदाहुँदै पनि आत्महत्या जस्तो मनोसामाजिक परिघटना ब्यहोर्नु परेको भन्दै प्राध्यापक पण्डीतले यसको रोकथामका लागि प्राज्ञिक समूदायले विशेष चासो देखाउनुपर्ने बताए ।
मनोपरामर्श कार्यमा संलग्न एवं विद्यार्थीहरु स्वर्णिमा दाहाल, स्वप्निल देवकोटा, यमुना अधिकारी र रिता लावतीले आत्महत्याका बारेमा संयुक्त प्रस्तुती दिएका थिए । उनीहरुले आफ्नो प्रस्तुतिमा आत्महत्याका कारण र रोकथामका उपायका बारेमा प्रष्ट पारेका थिए ।
मनोविज्ञान स्नातकोत्तर कार्यक्रमकी संयोजक प्राध्यापक कविता खातीले अन्तर्राष्ट्रिय एवं राष्ट्रिय स्तरमा आत्महत्याको वस्तुगत तथ्य प्रस्तुत गर्दै यस्ता कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताइन् ।
उक्त कार्यक्रममा मनोविज्ञान विभागकी प्रमुख प्राध्यापक मिनर्वा झोछें, मनोचिकित्सा परामर्शदाता अञ्जनकुमार ढकाल र रामपुकार शाहले मनोपरामर्शको विभिन्न आयाम बारे प्रष्ट पार्दै विज्ञका रूपमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया