काठमाडौंसहित देशका चार सहरमा ६० वर्षमाथिकालाई घरबाहिर ननिस्कन आग्रह

health ministry

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएसँगै देशका विभिन्न स्थानमा कडाई गर्न निर्देशनसाथ अनुरोध गरेको छ । मन्त्रालयले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै ६० वर्ष उमेरमाथिका मानिसलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौंसँगै सुर्खेत, चितवन, मोरङ र सुर्खेतमा संक्रमणको दर उच्च देखिएकोले तत्कालका लागि ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।

त्यस्तै मन्त्रालयले अबदेखि देशभरका सबै प्रयोगशालाले पीसीआर परिक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिइएको बताए ।

यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो । नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् ।

“पहिलो पोजेटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,” उनले भने, “धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।”

प्रतिक्रिया

सम्बन्धित