ओलीको षड्यन्त्र यसरी भयो विफल

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको सत्तासाझेदारी र चुनावी तालमेलबाट तर्सिएको एमाले र एमालेका नेताहरूको राजनीतिक छुद्रता दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरेर एमालेका अध्यक्ष केपी ओलीको ‘राजनीतिक घमण्डता र अहंम’ले चरम सीमा नाघ्न थालेको छ । बजेट अधिवेशन सुरु हुनेवित्तिकै अनावश्यक बखेडा निकालेर संसद अधिवेशन लगातार दुई दिन अबरोध गरेको एमालेले मंगलबार र बुधबार राजनीतिक वृत्तमा गर्नै नहुने हद पार गरेको खुलासा भएको छ । अध्यक्ष ओलीले आफूलाई देशको सबैभन्दा ठूलो स्वघोषित राजनेता ठानेका कारण राजनीतिक गतिरोधले झन् गहिरो अविश्वास निम्ताएको छ ।मंगलबार प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा अबरोध सृजना गरेपछि सदनको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामूहिक र व्यक्तिगत पहल गरे ।

 तर, प्रचण्ड र देउवाको पहललाई ओलीले ‘धोती’ लगाइ दिए । अन्ततः प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्न पाएनन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिनु प-यो ।देशको प्रधानमन्त्रीले संसदमा बोल्न समय माग्दा प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय मूल्य र मान्यताको धज्जी उडाउँदै सदन अबरोध गरेर जगत हँसाएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले ओलीलाई फोन गरेर सदनको गतिरोध अन्त्यका लागि छलफल गर्न बालुवाटार बोलाए । तर, ओलीले फोनमा भने, ‘म व्यस्त छु आउन ढिला हुन्छ ।’ तैपनि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, अर्थमन्त्रीका साथै अर्थमन्त्रालयका उच्च अधिकार एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोलीले पर्खेर बसेको थियो ।

 झण्डै ढेड घण्टा ढिला पुगेका ओलीले कुर्सीमा बस्नेवित्तिकै देउवा र प्रचण्डतिर व्यङ्ग्य गर्दै सत्ता हस्तान्तरको कुरा हुँदै छ है ? भनेर प्रश्न गरे । ओलीको व्यङ्ग्य सुन्नेवित्तिकै देउवा तात्तिए । देउवाले भने, ‘सत्ता हस्तान्तर होस् वा जे होस्, यो कुरा प्रधानमन्त्री र मेरोबीचको हो । तपाईलाई यहाँ बजेटका विषयमा छलफल गर्न बोलाएको हो ।’ देउवाको खप्की खाएपछि ओली एकछिन चुप लागेर बसे । कुरा चल्दै जाँदा ओलीले बजेट र संसदको गतिरोध अन्त्य गर्ने विषयमा चासो दिएनन् । बरु समस्याको समाधान कसरी निकाल्ने हो त्यस विषयमा स्पष्ट जवाफ नदिएर सदन अबरोध गर्ने धम्कीसहित बालुवाटारबाट बाहिरिएका थिए ।

 ओली निस्किएपछि प्रधानमन्त्री प्रचण्ड, सभापति देउवासहितका नेताहरू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर पुगे । प्रधानमन्त्रीले फेरि ओलीलाई फोन गरेर वार्ताका लागि बोलाए । ओलीले फेरि पनि आफू व्यस्त रहेको भन्दै कम्तिमा दुई घण्टा आउन नसक्ने बताए । प्रधानमन्त्रीले तपाईलाई पर्खेर बसेका छौं छिटोभन्दा छिटो आउनुस् भनेर फोन राखे । झण्डै दुई घण्टा कुराएर ओली संसद भवन नयाँ बानेश्वर आए । उनी प्रधानमन्त्रीको चेम्बरमा नपुगेर सिधै आफ्नो कार्यकक्षमा गएर बसे । आधा घण्टासम्म ओली नआएपछि प्रचण्डले फेरि ओलीलाई फोन गरेर बोलाए । ओलीले जवाफ दिए, ‘म त्यहाँ आउँदिन तपाईहरू आउनुस् ।’ प्रधानमन्त्री प्रचण्ड आफ्नो पदीय हैसियत भुलेर ओलीको कार्यकक्षमा जाने कुरा पनि भएन । त्यसपछि देउवा ओलीलाई लिन उनकै कार्यकक्षमा पुगे ।

 देउवासँग १० मिनटको कुराकानीपछि शंकर हलमा लगेर प्रधानमन्त्री, देउवा, ओली र सभामुखबीच वार्ता भयो । कुरा नमिलेपछि ओली केही नभनी बाहिरिए । सोही बेला प्रधानमन्त्रीले भोलि (बुधबार) बिहान नौँ बजे बालुवाटारमा वार्ता गरौँ भनेर प्रस्ताव राख्नेवित्तिकै ओलीले भने, ‘म व्यस्त छु । तपाईहरूले बोलाउँदैमा आउने फुर्सद छैन । भ्याएँ भने आउँछु । होइन भने आउँदिन ।’ प्रमुख विपक्षी दलको नेताले यसरी अमर्यादित जवाफ दिएपछि सबै चकित परे । हुन पनि बुधबार बिहान नौ बजेको बालुवाटार बैठकमा ओली गएनन् । नौ बजेको बैठक बस्नै सकेन । ओली नआएपछि बिहान दश बजे प्रधानमन्त्री र देउवा संसद भवन पुगेर ओलीलाई बोलाए पनि उनी दिनभरि संसद आएनन् । ओली वार्तामा नआएर वरिष्ठ नेता माधवकुमार नेपाल र सुवासचन्द्र नेम्वाङलाई मात्रै पठाए ।

 एमालेको सबै कुरा सुनेपछि सदन खोल्ने कुनै संकेत नदेखेपछि प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिएका हुन् । ओलीले आफूलाई जनताले पत्याएको, जे भने पनि र जे गरे पनि हुने भनेर घमण्ड पलाएका कारण यस्तो अवस्था आएको नेताहरूको आरोप छ । ओलीलाई स्थानीय तहको निर्वाचनबाट आएको मत परिणामले झन् अहंकारी बनाएको आरोप लागेको छ ।

 केही दिन सत्ता लम्बाउन लगाएर प्रचण्डलाई नै छ महिनाका लागि सत्ताको नेतृत्व दिएर कांग्रेस–माओवादी गठबन्धन तोड्ने अन्तिम प्रयासमा लागेका केपी ओली अन्तिममा आएर पराजित भएका छन् । उनले सदन अबरोध गरेर प्रधानमन्त्रीलाई बोल्न दिएनन् नै बिहीबार अपरान्ह चार बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्दै छिन्, त्यो बैठकलाई अबरोध गर्ने हिम्मत राख्न सक्छ ? यो प्रश्न सत्तारुढ दलका नेताहरूले एमालेका नेताहरूलाई गर्न लागेका छन् ।

 ओलीलाई पछिल्लो समय बढ्दै गएको घमण्डप्रति एमालेका नेताहरू पनि चिन्तित छन् । उनीहरूले ओलीको घमण्ड र अहंताले एमालेलाई ठूलो क्षति पुगाउने हो कि भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित