सोलुखुम्बुका अधिकांश विद्यालयमा पठनपाठन शुरु

school-khulyo_solu_santosh
सोलुखुम्बु ।
कोरोना कहरका कारण नयाँ शैक्षिक सत्रको शुरुदेखि बन्द रहेका सोलुखुम्बुका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रह तथा विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।

जिल्लाको एक नगरपालिका सहित आठवटै पालिकाका आधिकांस विद्यालयहरु वैकल्पिक विधिबाट सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाईका सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकास्तरमै सल्लाह गरेर पढाई हुन थालेको हो ।

प्रायः विद्यालयहरु आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा आएको पाइएको छ । सदरमुकाममा रहेको सोलुदूधकुण्ड नगरपालिकाका शिक्षा शाखा संयोजक मेघनाथ शर्माका अनुसार विद्यालयले सुरक्षा मापदण्ड अनुसार सिकाई सहजीकरणको काम गर्न थालेको छ ।

विद्यालयले खुलेको भन्दा पनि धेरै विद्यार्थी भएको विद्यालयमा जोरबिजोरका आधारमा थोरै विद्यार्थी बोलाएर पठनपाठन भइरहेको र थोरै विद्यार्थी भएका विद्यालयमा सबै विद्यार्थी बोलाएर सिकाई सहजीकरण हुन थालेको उहाँले बताउनुभयो । नगरपालिकाले विद्यालय सञ्चालन गर्नु नभनेको भन्दै वैकल्पिक प्रक्रियाका रुपमा पठनपाठन भएको उहाँको भनाइ छ ।

थुलुङदूधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका तथा खुम्बुपासाङल्हमू गाउँपालिकामा पनि विद्यालय सञ्चालनमा आएका छन् । नेचासल्यान गाउँपालिकाले सबैभन्दा ढिलो असोज १४ गतेबाट पठनपाठन सुरु गरेको छ ।

गाउँपालिका शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै भौतिक संचरना र समय विद्यालय आफैँले मिलाएर थोरै संख्यामा सिकाइ सहजीकरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

दुर्गम हिमाली जिल्ला भएकाले टोलटोलमा समूह बनाएर पठनपाठन गर्न असम्भव जस्तै हुने भएकाले थोरै संख्यामा विद्यालयलाई मूल सिकाइ केन्द्र बनाएर पढाउन उपयुक्त हुने देखिएकाले विद्यालयमा नै पढाइ भएको विद्यालयहरुले बताएका छन् ।

अधिकांश पालिकाले प्रधानाध्यापकको बैठकबाट पठनपाठन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित