अपहरणकारी छुटाउन एनआरएन मलेशिया अध्यक्ष हरि भट्टराईको दौडधुप

devid-hari-bhattarai-nrn-ma
क्वालालाम्पुर ।
गैर आवाशीय नेपाली संघ एनआरएन मलेशियाका अध्यक्ष हरि भट्टराई अपहरण मुद्दामा प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीको हिरासतमा रहेका डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठ छुटाउन दौडधुपमा लागेका छन् ।

डेभिडले भट्टराईकै आडमा मलेशियामा सोझा नेपालीमाथि ज्यादती गर्दै आएका थिए । मंगलबार सिआइबीद्वारा पक्राउ परेका डेभिडलाई छुटाउने पहल गर्न उनी मलेशियाको राजधानी क्वालालाम्पुरमा रहेको नेपाली दूतावाससम्मै पुगेका थिए । डेभिडकी श्रीमती भुटान माइत भएकी धनमाया श्रेष्ठलाई लिएर अध्यक्ष भट्टराई विभिन्न निकायमा पुगेको पाइएको छ । केही दिनअघि उनी मलेशियामा रहेको नेपाली दूतावासमा पुगेका थिए ।


दाङ घर भएका मोहम्मद रैदासलाई अपहरण गरि शरिर बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौती असुलेको अभियोगमा सिआइबीले डेभिडलाई पक्राउ गरेको थियो । उक्त घटनामा डेभिडकी श्रीमती धनमायाँको समेत समलग्नता रहेको सिआइबीको प्रेस विज्ञप्तिमै उल्लेख छ ।


धनमायासहित दुतावासमा पुगेका भट्टराईले राजदूत उदयराज पाण्डेसामु पक्राउ परेका डेभिड विरुद्ध उजुरी गर्ने पीडित कामदारलाई चोरीको आरोप लगाएर नेपाल प्रहरीलाई पत्र पठाउन दवाव दिएका थिए ।

मोरङ सुन्दरहरैचा स्थायी घर भएका डेविड मलेसियामा गुण्डागर्दी अपहरण र अन्य अवैध धन्दामा पनि संलग्न रहँदै आएको थिए । उनकै कारण झापाका विक्रम थेबे आधा दर्जन नेपालीहरु ठगिएको बताइएको छ ।

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमा समेत लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो ।

मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन् । नेपालबाट मलेशिया अवैध तरिकाले युवती लैजाने र उनीहरुलाई यौन धन्दामा लगाउने गरेका डेभिडलाई एनआरएन अध्यक्ष हरि भट्टराईकै संरक्षण रहनुले भट्टराईमाथि समेत मलेशियामा रहेका नेपालीहरुले आशंका गर्न थालेका छन् ।


दूतावासमै पुगेर डेभिडलाई बचाउन खोजेको विषयमा मलेशिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई प्रश्न गर्दा उनले ठाडै अस्विकार गरे । तर, भट्टराई दूतावासमा आएको भने उनले स्विकार गरे ।
‘उनी अर्कै विषयलाई कुरा गर्न आएका थिए,’ उनले भने,‘त्यही विषयमा कुरा भएको हो । अरु विषयमा कुरा भएको छैन ।’

पीडित रैदासलाई दूतावास भित्रै जबरजस्ती कागजात गराइएको विषयमा उनलाई प्रश्न गर्दा उनले कागज गरिएको स्विकार गरे । ‘हाम्रो लेभर एटैचीसमक्ष कागजात भएको रहेछ भन्ने मैले बुझेँ । मैले लेभर सेक्सनमा हेुर्नुस् भनेको छु,’ उनले भने,‘हामी नेपाल सरकारले माग्यो भने मात्रै पठाउने हो । होइन भने कसैलाई हामीले दिन मिल्दैन ।’


यद्धपी दुतावासमा भएको पीडितको कागजात भने दूतावासकै कर्मचारीको मिलेमतोमा लिक गरिएको छ ।
(दियोपोस्टबाट )

प्रतिक्रिया

सम्बन्धित