सतिशलालको डिजाइनमा एनसेलले एसपीए लुकायो, ३२ अर्ब अर्ब लाभकर तिर्नुपर्ने विज्ञ टोलीको ठहर

काठमाडौं । ३५ अर्ब लाभकर छलीमा संलग्न एनसेलमाथि कर निर्धारण गर्न ठूला करदाता कार्यालयद्वारा नियुक्त विज्ञ टोलीले प्रतिवेदन बुझाएको छ ।कार्यालयले पूर्व अर्थसचिव विद्याधर मल्लिक, पूर्वमुख्य सचिव तीर्थमान शाक्य र चार्टड एकाउन्टेन्ट शिवहरी शर्मालाई विज्ञ नियुक्त गरेको थियो ।

तर,  ड्युडिलिजेन्स अडिट रिपोर्ट (डीडीए), सेयर खरिदबिक्री सम्झौता (एसपीए) का लागि उक्त टोलीले एनसेललाई पटकपटक पत्राचार गरे पनि एनसेलले बिक्रेता टेलिया र क्रेता एक्जियाटासँग मात्र हुने भन्दै दिन इन्कार गरेको छ ।

वेबसाइटमार्फत सार्वजनिक गरिएबाहेकका कुनै सूचना उसले दिएन । टोलीले वेबसाइटमार्फत सार्वजनिक गरिएका सूचनाकै आधारमा कर निर्धारण गर्न पर्याप्त रहेको ठहर्‍याएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले पनि कर निर्धारणलाई सजिलो बनाइदिएको छ । प्रतिवेदनमा एनसेलको खरिद बिक्रीमा ३२ अर्ब रुपैयाँ लाभकर तिर्नपर्ने ठहर्‍याउँदै सो रकम अर्थ मन्त्रालयको बेरुजुमा समावेश गरिएको छ ।  एनसेलेको लाभकर विवादमा कर निर्धारण नगरी नहुने अवस्थामा पुगे पनि निर्धारण प्रक्रिया रोक्न अझै दबाब पर्ने निश्चित छ । विज्ञ टोलीले स्थानीय साझेदारको २० प्रतिशत सेयरको खरिद बिक्रीमासमेत थप लाभकर उठाउन सुझाव दिएकाले पनि राजनीतिक नेतृत्वले कर निर्धारण प्रक्रिया रोक्न दबाब बढ्न सक्छ । २० प्रतिशत सेयर सिंगापुर बस्ने व्यवसायी सतिशलाल आचार्यले श्रीमती भावनासिंह श्रेष्ठको नाममा खरिद गरेका हुन् ।स्रोतका अनुसार सुरुमा ८० प्रतिशत सेयरको खरिदबिक्रीमा लाभकर तिर्न नपर्ने बन्दोवस्त मिलाउने जिम्मा उनैले लिएका थिए । राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कर्मचारीतन्त्र सबैतिर लविङ उनैले गरिरहेका हुन् । तर, समयक्रममा उनले खरिद गरेकोमा पनि ठूलो परिमाणमा थप कर निर्धारण हुने अवस्था आएको छ ।

 कम्पनीको ८० प्रतिशत सेयर १ खर्ब ४४ रुपैयाँमा बिक्री हुँदा स्थानीय साझेदारको २० प्रतिशत सेयर ११ अर्ब ५७ करोड रुपैयाँ घोषणा गरिनुलाई महालेखाले अनुचित ठहर्‍याएको छ । ८० प्रतिशत सेयरको बिक्री मूल्यलाई नै आधार मानेर स्थानीय साझेदारसँग पनि ६ अर्ब १५ करोड रुपैयाँ थप कर असुल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

 आचार्यको ठूला दलका शिर्षस्थ नेतासँग सम्बन्ध रहेको ठानिएको छ । प्रभावशाली नेता सिंगापुरमा उनको पाहुना भएका छन्, स्रोतले भन्यो, 'उनकै निम्तोमा सिंगापुर गई अरु केही बहाना बनाई फर्किने पनि छन् ।' यसैले आफैंमाथि ६ अर्ब १५ करोड रुपैयाँ कर दायित्व पर्ने भएपछि उनले आफ्नो सम्बन्ध र लगाएको गुन तिराउन लविङ गर्ने ठानिएको छ ।

 २०६५ सालमा स्विडेनको टेलियाले १ अर्ब १२ करोड रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व गत वर्ष मलेसियाको एक्जियाटालाई १ खर्ब ४४ अर्ब रुपैयाँमा बेचिएको थियो । पुँजीगत लाभकर तिर्नै नपर्ने अड्डी कसेको एनसेलले दबाब परेपछि ६६ अर्ब ४६ करोड रुपैयाँ लाभ भएको देखाइ त्यसको १५ प्रतिशतबापत हुने ९ अर्ब ९६ करोड रुपैयाँ कर दाखिला गरेको थियो । बाँकी १० प्रतिशतचाहिँ बिक्रेता टेलियाले तिर्नुपर्ने अड्डी उसले लिँदै आएको छ । महालेखाका अनुसार १० प्रतिशतबापत हुन आउने ६ अर्ब ६४ करोड रुपैयाँ त असुल्नु पर्नेछ नै, थप कर असुल्नपर्ने हुन्छ ।

 एनसेलले कम्पनी खरिद ७८ अर्ब ३१ करोड रुपैयाँमा गरेको आधारमा गणना गरी १५ प्रतिशत लाभकर दाखिला गरेको थियो । तर, अभिलेखमा १ अर्ब १२ करोड रुपैयाँमा खरिद गरेको देखिँदा बाँकी ७७ अर्ब १२ करोड लाभमा समेत १५ प्रतिशतको दरले १९ अर्ब २९ करोड रुपैयाँ असुल्नपर्ने महालेखाले ठहर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित