आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा संक्रमित

Shukraraj-Hospital-teku-hospital_20200301150806-696x343

काठमाडौं ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका संक्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । ‘शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।’ उनले भने ।

अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा संक्रमितले भरिरहेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै संक्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए । ‘लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।’ उनले भने ।

उपत्यकामा संक्रमितको संख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उनले बताए । ‘हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।’ उनले भने ।

अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै संक्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका संक्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ । ‘कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरु अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।’ उनले भने ।

एकातिर अस्पतालका सबै शैयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा संक्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनले बताए । अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उनले बताए । एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई संक्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ । ‘सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।’ उनले भने ।

नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटिएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ । कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उनले जानकारी दिए । ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकाले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । ‘अहिले धेरै जना लोक सेवा, प्रहरीमा भर्ना हुन वा विदेश जान भन्दै परीक्षणका लागि आइरहेका छन् ।’ उनले भने ।

सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले संक्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।

अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरु किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा राजभण्डारीले बताए । यहाँ उपचारका लागि आउने अरु सरुवा रोगका बिरामीलाई अरु अस्पतालमा सारिएको छ । एचआइभी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरु सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित