६ महिना अघि ओपन हर्ट सर्जरी गरिएकी सांसद बस्नेतकी आमाले जितिन् कोरोना

M_Basnet_1

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको परिवारका ८ जना कोरोनामुक्त भएका छन् । 

६ महिनाअघि मात्र मुटुको ओपन हर्ट सर्जरी गरिएकी ६६ बर्षीय  उनकी आमा समेत कोरोना संक्रमण भएको अवस्थामा उनले पनि १५ दिनमै कोरोनालाई पराजित गर्न सफल भएको बस्नेतले जनाएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्य कोरोनामुक्त भएको सार्वजनिक गर्दै लेखेका छन्, 'यो पल्ट कोरोना संक्रमणको कारण सबैको बडा दशैं खल्लो भएको छ। हाम्रो परिवारमा पनि आमा, बहिनी,जुवाईं साप, भान्जा, भान्जी र गाडी चालक भाइ समेत ८ जनामा संक्रमण हुन गयो। कन्ट्र्याक ट्रेसिङ्गमा परेको बुवा, म र परिवार अन्य सदस्यको पी सी आर टेष्टको रिपोर्ट भने नेगेटिभ आएको छ। आमालाई ज्वरो आउने, रुगा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखियो। अन्य सदस्यलाइ पनि सुरुको दिनमा मिल्दो जुल्दो लक्षण देखिएको थियो। हिजो १५ दिनको होम आसोलेसनको बसाइ पछी गरिएको पी सी आर टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको र सबैको स्वास्थ अवस्था राम्रो छ। अब आज सपरिवार दशैंको टीका सामान्य ढंगले लगाइदैंछ। आमाको ६ महिना अगाडी मात्र मुटुको ओपन हर्ट अप्रेसन गरेकोले उहाँको मनोबल नगिरोस भनेर खास बाहिर भनिएको थिएन। हामी पनि निकै डराएका थियौं। तर आमाको उच्च मनोबलको कारण सोचे भन्दा सजिलै उहाँले कोरोनालाई पराजित गर्नुभयो।चासो र सदभाब जनाउने सम्पुर्ण आफन्त र मान्यजनमा धन्यवाद ।'

बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, ड्राइभरसमेत ८ जनामा कोरोना पोजेटिभ देखिएकोमा सबैजनाले १५ दिनको आईसोलेसनपछि कोरोनामुक्त भएको जनाइएको छ ।

अन्य परिवारलाई संक्रमण देखिएपछि आईसोलेसनमा बसेका सांसद बस्नेतसहित उनका बुवा र अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित