बाँके र प्युठानमा थप एक/एक जना कोरोना सङ्क्रमितको मृत्यु

Died_Corona1


बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत शनिबार बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको बिहान मृत्यु भएको हो ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका –३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनकाे वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पारेखरेलले बताए । योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित