भक्तपुरका ड्रिम प्रोजेक्ट जसरी पनि पूरा हुन्छः सांसद बस्नेत

Mahesh_1

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको ड्रिम प्रोजेक्टजसरी भए पनि पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

सांसद बस्नेतले भक्तपुरको ड्रिम प्रोजेक्टका रुपमा रहेको रंगशाला, कवोर्ड हल, हनुमन्ते-मनोहरा कोरिडोर, सभागृह, प्राणी उद्यान केन्द्र, कोटेश्वर–जडिबुटी सुरुङ मार्ग, आधुनीक वीर अस्पताललगायतका भक्तपुरकै विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको आयोजनामा जतिसुकै बाधा अड्चन आए पनि निर्माण पूरा गरेरै छाड्ने उद्घोष गरेका छन् ।

बाचामारी ढुङ्गेधारा तथा पुरातात्वीक सम्पदा संरक्षण समितद्वारा विहिवार दिपावली, छठ, नेपाल सम्वत ११४१ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले सूर्यविनायक नगरपालिकाको सिपाडोलमा रंगशाला र नंखेलको कवोर्डहल निर्माण भएरै छाड्ने बताएका हुन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले रंगशाला तथा कवोर्डहल निर्माण गर्न अनावश्यक रुपमा अवरोध गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै बस्नेतले केन्द्र सरकारले पछि हटेमा पनि जिल्ला स्तरको रंगशाला र कवोर्डहल निर्माण गरेरै छोड्ने प्रतिवद्धता जनाए । जसको लागि सूर्यविनायक नगरपालिकाले प्रकृया समेत अघि बढाइसकेको जानकारी गराए ।

उक्त ड्रिम प्रोजेक्टहरु निर्माण सम्पन्न भएसँगै भक्तपुरमा विभिन्न प्रकारका उद्योग, होटल, पर्यटकीयलागतका कार्यहरु गरी रोजगारीको असंख्य सम्भावनाहरुलाई खुल्ला हुने आधारहरु समेत प्रस्तुत गर्दै उनले विकास निर्माणको यात्रामा आफ्नो सँगसँगैको यात्रा हुने बताए ।

भक्तपुरमा सञ्चालन भएको सफाई अभियानका क्रममा अरनिको राजमार्गको सर्भिस ट्र्याकको आवश्यकता महशुस गरी भक्तपुरका व्यवसायीको सहयोगमा राज्यको शुन्य लागतमा काम भएको स्मरण गर्दै सांसद बस्नेतले भक्तपुरमा हुने दैनिक जसो हुने सवारी दुर्घटना न्युनिकरण तथा सवारी जामलाई अन्त्य गर्नको लागि सर्भिस ट्र्याक अपरिहार्य भएको औंल्याए ।

सूर्यविनायक–धुलिखेलसम्म अरनीको राजमार्गलाई ६ लेनको सडक स्तरउन्नती गर्ने कार्यको प्रकृया समेत अगाडी बढिसकेको जानकारी गराउँदै उनले सडक विभागबाट बजेट व्यवस्थापन गरी सर्मिस ट्र्याकमा ग्राभेल गर्ने, ढल राख्ने लगायतका कामहरु भइरहेको बताए । अरनीको राजमार्गमा १८९ वटा रुखहरु हटाउन अर्थमन्त्रालयबाट तत्कालै ३५ लाखको व्यवस्था गरी हटाउने कार्य भएको समेत उनले जानकारी गराए ।

देश संघियताको कार्यान्वयनको चरणमा गएपछि कुनै पनि आयोजनाहरु समेत कार्यक्षेत्र परिवर्तन भएकोले नंखेलको खानेपानीको जिम्मेवारी प्रदेश सरकार मातहतमा रहेको जानकारी गराउँदै उनले प्रदेश सरकारसँगको सहकार्यमा करिव तीन सयभन्दा बढी परिवारलाई खानेपानीको धारा व्यवस्थापन गरिएको जानकारी गराए । अबको दुई वर्षभित्रमा नंखेलमा खानेपानीको समस्या अन्त्य नहुने तथा सवैको घरघरमा खानेपानी पुग्ने समेत उनले बताए ।

पलासे – डोलेश्वरसम्मको सडक निर्माण कार्य सम्पन्न भई काभ्रे तिरका मानिसहरु डोलेश्वर जाँदा अरनीका राजमार्गको विकल्पको रुपमा सञ्चालनमा आएको बताए । हाइवेसँग जोडिएका सडकहरु भातेढिकुरोदेखी नंखेल जाने सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको, भातेढिकुरो–जोरपाटी जाने सडक, नंखेल– खड्कागाउँ हुँदै वडा कार्यालय जाने सडक, सूर्यमोडबाट काँक्रावारी जाने सडक बनिरहेको जानकारी गराउँदै उहाँले अबको तीन वर्षभित्रमा नंखेलमा चालु भएका ८ मिटरका सम्पूर्ण सडकहरु निर्माण सम्पन्न भइसक्ने बताए ।

उनले भने, ‘जे सम्भव छैन भनि भनिन्थ्यो त्यो सम्भव गरेर देखायौं, त्यो नंखेलमा गुण्डु, दधिकोट, चित्तपोललगायतका आयोजना निर्माण भइरहेका सम्पूर्ण ठाउँहरुमा सम्भव भयो, जनतामा जागरण आयो । जनताले आफैं सिमाङ्कन गर्न थाल्नुभएको छ । जुन विकास र समृद्धिको लागि अन्त्याधिक खुसीको कुरा हो । अब भक्तपुरका जनताले अबका दिनमा विकासको लाभ नै लाभ लिन्छन् । म सवैलाई धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी, जिल्ला समन्वय समितिका सदस्य श्रीराम व्यन्जुले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित