आज तिहारको चाैथाे दिन, गाई, गोरु र गोबर्द्धन पूजा गरिँदै

gai puja

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ ।

वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

तिहारको चौथो दिन आजै गोवर्द्धन पूजा पनि गरिँदैछ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित