ट्रम्पको मागपछि जर्जियामा तेस्रोपटक मतगणना गरिँदै

vote count

जर्जिया । ट्रम्प पक्षको आग्रहपछि जर्जियामा तेश्रो पटक मतगणना गरिने भएको छ । दोश्रोपटक हातैले पुनः मतगणना गरेर नतिजा प्रमाणिकरण गरे लगत्तै ट्रम्प अभियानका तर्फबाट शनिबार पुनः तेश्रोपटक मतगणनाका लागि अनुरोध गरिएको हो ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट र गभर्नर दुबै रिपब्लिकन हुन् । उनीहरुले बाइडेनको जीतलाई औपचारिक रुपमा प्रमाणिकरण गरेपनि ट्रम्प पक्षले अर्को मतगणनाको माग गरेको हो ।


जर्जियामा पुन गणनाका लागि कुनै बाध्यकारी नियम छैन । तर शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुन गणनाको अनुरोध गर्न सकिन्छ । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको अवस्थामा ट्रम्प पक्षले मतगणनाको माग गरेको हो ।

तर पहिलेजस्तो हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ । जर्जियामा बाइडेनले ट्रम्पको तुलनामा १२ हजार ६ सय बढी मत ल्याएका छन् । सेक्रेटरी अफ स्टेटले काउन्टीका निर्वाचन अधिकारीहरुलाई पुन मतगणनाका लागि तयार रहन सुचित गरिसकेका छन् ।

जर्जियाका अधिकारीहरुले हातैले गरिएको दोश्रो मतगणनाको रिपोर्ट बिहिबार सार्वजनिक गरेका थिए । बाइडेन र ट्रम्पबीचको मार्जिन कम भएपछि पुन हातैले गणना गरिएको थियो । जर्जियामा डेडलाइन अगाडि नै प्रमाणिकरण भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित