द्वन्द्वकालीन घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छः मन्त्री फुयाँल

phuyal

जिरी । बागमती प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले  द्धन्द्धकालीन घटनाका दोषीमाथि कडा भन्दा कडा  कारवाही हुनेपर्ने बताएका छन् । द्धन्द्धकालीन घटनामा राज्य पक्षबाट होस वा बिद्रोही पक्षबाट होस दोषीमाथि कडाभन्दा कडा कारवाही गरिनुपर्नेमा मन्त्री फुयाँलले जोड दिएका छन् ।

बृद्धिमान स्मृति दिवसको अवसरमा दोलखा जिरी वडा नं. ९ ठूलोपातलका ज्येष्ठ नागरिकलाई न्यानो  कपडा (ज्याकेट) वितरण गर्दै मन्त्री फुयाँलले देशमा अनाहकमा ज्यान गुमाएकाको द्धन्द्धको घाउहरु अझै आलै रहेको बताए । मन्त्री फुयाँलले भने, त्यो पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ, त्यो निकै दर्दनाक र पीडादायी छ ।

द्धन्द्धकालीन समयमा भएका अन्याय सरकार वा विद्रोही पक्ष जोबाट भए पनि मानवताविरुद्ध भएको बताउँदै त्यस्ता घटनाका पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए । चाहे सरकार होस वा बिद्रोह हुनु,  दोषीले सजाय पाउनुपर्छ, मानवताविरुद्धको काम गर्ने कसैलाई उन्मुक्ती दिनु हुँदैन ।

मन्त्री फुयाँलले प्रदेश सरकारले १६ जिल्लालाई प्रविधियुक्त स्थानीय तह बनाउन लागेको, १० जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानीलगायतका दिर्घकालीन योजना अनुसार काम शूरु गरेको पनि जानकारी गराए । उनले विद्युतीय बस सञ्चालनको लागि कानुन निर्माण गरिएको पनि उल्लेख गरे ।

त्यस्तै, सहिद बृद्धिमान प्राखिनको नाममा सडक र प्राविधिक शिक्षालय बनाउने घोषणा गर्नुहुँदै मन्त्री फुयाँलले त्यसको लागि जिरी नगरपालिकालाई आवश्यक कार्यमा लाग्न निर्देशन पनि दिए ।

Phuyal_1

कार्यक्रममा सांसद शान्तिमाया प्राखिनले देश र जनताको सेवा गरिरहेका इमानदार मान्छेलाई अनाहकमा हत्या गर्नेमाथि कडा भन्दा कडा कारवाही गरिनुपर्ने बताए । द्धन्द्धकालका घटनाको घाउ अझै आलै रहेको बताउँदै सांसद प्राखिनले  दोषीलाई कुनै पनि हालतमा कानूनी कठहरामा ल्याउन राज्य लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिरी नगरपालिका प्रमुख टंक जिरेलले सहित बृद्धिमान प्राखिनजस्तै निद्रोष नागरिकमाथि भएका घटनाको छानबीन गरि कारवाही गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा  नेकपा दोलखा काठमाडौं क्षेत्र १ का क्षेत्रीय पुर्वअध्यक्ष सुरेशकुमार प्राखिन र सहिद बृद्धिमान प्राखिनका दाई जयबहादुर प्राखिनलगायतको सहभागिता थियो ।

सो अवसरमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बृद्धिमान स्मृति दिवसको अवसरमा दोलखा जिरी वडा नं. ९ ठूलोपातलका ज्येष्ठ नागरिकलाई न्यानो  कपडा (ज्याकेट) सहयोग गरिएको हो ।  बागमती प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री फुयाँलले करिव ५ सय ज्येष्ठ नागरिक,एकल महिला–पुरुष, दलित र अपाङलाई न्यानो कपडा वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित