'सिभिल सोल्जर'का साथ पाण्डे पुनः विश्व वृत्तचित्र बजारमा

soldiers

काठमाडौं । पत्रकार गणेश पाण्डेले कोरोना भाइरस (कोभिड–१९) को महामारीका क्रममा फ्रन्टलाइनमा खटिने सर्वसाधारणको कथामा आधारित डकुमेन्ट्री फिल्म सिभिल सोल्जर बनाएका छन्।

‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान्’ जस्ता नयाँ विषयलाई पस्किसकेका पाण्डेले महामारीका क्रममा सर्वसाधारणका निम्ति जोखिम मोलेर खटिनेहरूका अनुभवलाई डकुमेन्ट्रीमा उतारेका छन्।

नेपालमा आकस्मिक रुपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अबस्थालाई डकुमेन्ट्रीले प्रस्ट्याउँछ।

‘लक डाउनका बेला कस्तो अवस्था थियो र त्यसबेला खटिएका व्यक्तिको अनुभवबारे डकुमेन्ट्री उतार्ने प्रयास गरिएको छ’, निर्देशक पाण्डे भन्छन्।

आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा डकुमेन्ट्री रिलिज हुनेछ। पुकार तिमिल्सिना र अबिनाश लामाको छायाँकन रहेको डकुमेन्ट्रीको निर्मात्री शारदा गैरे हुन्।

‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको बिभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौं । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौं ।’

साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको डकुमेन्ट्रीको दृश्य सम्पादन ईश्वर कोइरालाले गरेका छन्। आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, बिन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित