सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु तथा ३ जना घाइते 

Accident_1

काठमाडौं । झापा, नवलपरासी(पूर्व), रुपन्देही र बझाङका छुट्टाछुट्टै स्थानमा बिहीबार भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

झापास्थित अर्जुनधारा नगरपालिका-११ सालवारीस्थित सडकमा मे.११ प ६२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ३३ वर्षीय ललित चौधरीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-१ बिनयी खोलामा लु.३ त ८१७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक दाङ राजपुर गाउँपालिका-४ मोतीपुर बस्ने २४ वर्षीय हरिश्याम यादवको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त खोलामा अबैध रुपमा नदीजन्य पदार्थ ओसारपोसारमा संलग्न ना.३ त ९०५८ नम्बरको ट्याक्टर सहित ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा लु.३ त ८१७५ नम्बरको ट्याक्टर प्रहरीलाई देखी भाग्ने क्रममा दुर्घटना भएको हो ।

सोही घटनाको बिषयलाई लिएर शुक्रबार बिहान बिनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबास बजारमा स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरोध गरेपश्चात जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चोरमाराबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै प्रहरी टोलीमाथि ढुंगामुढा गरेपछि ढुंगामुढा गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुंगामुढाबाट २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ महदेवास्थित सडकमा लु.६० प १०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय बिजय बानियाँको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडा बजारमा ना.६ ख १७९५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम बिष्टकी २ वर्षीया छोरी दिपिका बिष्टको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकी देउलेख हुँदै थप उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ । दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले ढुंगामुढा राखी जयपृथ्वी राजमार्ग अवरोध गरेकोले प्रहरी टोली खटि गई राजमार्ग खुलाउने पहल गरिरहेको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित