राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी, प्रचण्डद्वारा आपत्ति, कांग्रेसद्वारा संसद बैठकको माग

President

काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेकी छन्।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेशमार्फत अब बहुमतका आधारमा विभिन्न निकायमा नियुक्ति सिफारिस हुनेछ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्। सभामुख अग्नी सापकोटा मंगलबार बिहान परिषदको बैठकमा अनुपस्थित भएपछि आकस्मिक बैठक राखी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्ने निर्णय गराएका थिए।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आउँदा गणपुरक संख्या नपुगेपछि अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले बाटो फुकाएका हुन्।

अध्यादेश जारी भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले विरोध जनाएका छन् । दाहालले कुनियतले ल्याइएको यस अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरेका छन ।
त्यस्तै प्रतिपक्षी कांग्रेसले भने अध्यादेश जारी गर्नुभन्दा सदन आह्वान गरिनुपर्ने माग राखेको छ । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि अध्यादेश ल्याउने सरकारको कदमको विरोध गरे । ‘अध्यादेश अहिले आवश्यक नै होइन, हामीले पहिला पनि अध्यादेशको विरोध गरेका हौं, अहिले पनि अध्यादेश ल्याउनै पर्ने अवस्था थिएन,’ उनले भने, ‘हामीले संसद बैठक बोलाउन माग गर्दै आएका छौं, संसद बैठक बोलाएर संसदभित्रैबाट हुन सक्ने कामका लागि संसद छलेर सरकारले अध्यादेश ल्याउनु उचित होइन ।’

 

प्रतिक्रिया

सम्बन्धित