जेठको पहिलो साता काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने गगन थापाको दावी

काठमाडौँ । स्वास्थ्य मन्त्री तथा काँग्रेस नेता गगन थापाले अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।  थापाले काँग्रेस नेतृत्वको सरकारले संविधानको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन गर्ने उल्लेख गरेका छन् ।

 काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क दिए ।

 स्थानीय तहको निर्वाचनमा अतिवाद र मध्यमार्गीबीचमा प्रतिस्पर्धा हुने थापाको भनाइ थियो । केही दलले अदृश्य रुपमा जातिवाद र धर्मका नाममा मुलुकमा विखण्डनको भावना ल्याउन खोजेको भन्दै थापाले त्यसलाई परास्त गर्न पनि काँग्रेसका उम्मेदवारले जित्नुपर्ने धारणा व्यक्त गरे ।

  काँग्रेसको पहलमा पहिलो चरणको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालले  निर्वाचनमा भाग लिएको अवगत गराउँदै नेता थापाले जेठ पहिलो साताभित्र संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपाललाई पनि दोस्रो चरणको निर्वाचनमा ल्याउने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित