माओवादीले १७ राउन्ड फायरिङ गरि कुबहादुरको हत्या गरेको एमालेको आरोप

काठमाडौं। नेकपा एमालेले आफ्ना  कायकर्तामाथि माओवादी केन्द्रबाट भएको आक्रमणको निन्दा गरेको छ । मंगलबार राति साढे ८ बजे दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रको आक्रमणबाट एमालेका सक्रिय युवा कुलबहादुर तामाङको मृत्यु भएको थियो । जसलाई एमालेले हत्या भनेको छ ।

‘स्थानीय निर्वाचनको सिलसिलामा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं.२ मा हिजो २०७४ वैशाख २६ गते राती ८ः३० बजे माओवादी केन्द्रको अपराधिक जत्थाको सांघातिक आक्रमणमा एमालेका सक्रिय युवा कुलबहादुर तामाङको दुःखद् निधन भएकामा पार्टी स्तब्ध भएको छ,’ सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस घटनाले सत्ता संरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।’

एमालेका अनुसार गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङसहितले जुँगुस्थित निलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी तर्फका पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको आपराधिक जत्थाले आक्रमण गरेको थियो । करिब १७ राउन्ड फायरिङ गरि कुबहादुरको हत्या गरेको एमालेको आरोप छ । उक्त घटनामा पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गरिंदा गम्भीर घाइते भएको र उनको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित