मनाङ्गे र चक्रे खोरमा पुग्दा गणेश, गोर्खाली र मिनकृष्ण किन अटेनन् ?

काठमाडौं : स्थानीय निर्वाचनको मुखमा महानगरीय प्रहरी परिसर काठमाडौंले सम्भावित घटनालाई मध्यनजर गरी स्वीप अप्रेशन चलाएर ठूला गुण्डा नाइकेहरुलाई पक्राउ गरेको छ ।

गुन्डाहरुको सूची नै तयार पारि स्वीप अप्रेशन चलाएका महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले ठूला डनहरु दिपक मनाङ्गे र मिलन चक्रेलाई पक्राउ गरेका छन् ।

विगतका एसएसपीहरुले झै आफ्नो कार्यकालमा जोशीले सूची नै बनाएर डनहरुलाई तितरवितर बनाउन पक्राउ गरेका हुन् ।

तर, तिनै ठूला सूचिमा रहेका गणेश लामा, राजु गोर्खालीलगायतका गुण्डा नाइकेहरु  भने पक्राउ पर्नबाट जोगिएका छन् । विजयकुमार गच्छदार उपप्रधान एवम् स्थानीय विकास मन्त्री बनेपछि उनकै पार्टीको केन्द्रिय सदस्य रहेका लामा पक्रउ परेका छैनन् भने पूर्व एआईजी विज्ञानराज शर्माका साझेदार रहेका गोर्खाली पनि सूचीमा अटेनन् । अहिले पक्राउ परेका गुण्डा नाइकेहरुविरुद्ध कुनै उजुरी र चार्ज नभएपनि प्रहरीले निर्वाचनमा सुरक्षा सतर्कता अपनाउनका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । काभ्रेली समूहका नाइके लामा हाई प्रोफाइल डनका रुपमा चिनिन्छन् ।

त्यस्तै सञ्चय कोषको टेण्डर एकलौटी रुपमा कब्जा गरेका गोर्खालीको दादागिरीको जालो चावहिल देखि बौद्धसम्म फैलिदा समेत पूर्व एआईजी शर्माकै संरक्षणका कारण उनलाई कसैले पनि पक्राउ गर्ने आँट गरेको छैन ।

तर, परिसरले १६० गुन्डाहरुको सूची तयार गरेर अप्रेशन चलाएको दावी गरेको छ । निर्वाचनको समयमा आपराधीक गतिविधिहरु बढ्ने र गुण्डाहरुले आतंक फैलाउन सक्ने आशंकाले उनीहरुलार्इ नियन्त्रणमा लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ । यद्यपी गुण्डा नाईके मनाङ्गे र चक्रे पक्राउ परेपछि टोले गुण्डाहरूको भने भागाभाग भएको छ ।

त्यसैगरी प्रहरीले काभ्रेका गुण्डा नाइकेहरु विष्णु लामा, युद्ध लामा र ललितपुरका मिनकृष्ण महर्जनलाई पनि पक्राउ गर्न सकेको छैन । तर, काभ्रेकै स्याल भन्ने सञ्जिव लामा, वाला भन्ने योगन्द्र लामा, पुनित गुरुङ, तेजेन्द्र गुरुङ, राजु बोगटी र छुचुन्द्रो भन्ने निरज महर्जन भने भर्खरै छुटेका छन् ।

केही समय अघि अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका दावा लामाका सदस्यहरुलाई पनि प्रहरीले निगरानीमा राखेको छ । लामामाथि गोली प्रहार भएको एक महिना वितिसक्दा पनि प्रहरीले आक्रमणकारी बारे कुनै सुईंको पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित