'पैसा खानु नै थियो भने २/४ घन्टा लोडसेडिङ गरेरै करोडौं कमाउँथे'

१५० रुपैयाँमा गुणस्तरिय बल्ब दिनुस् हामी बेचिदिन्छौं : कुलमान घिसिङ काठमाडौं : सरकारले एलईडी बल्ब खरिद गरेर सस्तो मूल्यमा उपलब्ध गराउन लागेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल देखि कांग्रेस सभापति शेरबहादुर देउवाले समेत चुनावी खर्चका लागि भन्दै सोही बल्ब खरिद गर्ने नाममा कमिसन लिएको समाचारहरु आइरहेका छन् । यस विषयम विद्युत तथा आपूर्ती मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ पनि मुछिएका छन् । यस विषयमा शर्माले विद्युत खपत कम गर्न खोज्दा भ्रष्टाचार गरेको हुन्छ ? भन्दै त्यसको खण्डन गरिसकेका छन् भने घिसिङ पनि आज पत्रकारसामु रोए । बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका घिसिङले भावुक हुँदै आफूले इमान्दार भएर काम गरेको बताए । उनले गहभरी आँसु पार्दै भने–‘एउटा बल्बमा मैले पैसा खानुपर्ने अवस्था छैन, नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २÷४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ उनले थपे । आफूहरुमाथि लागेको आरोपले गम्भीर भएको बताउँदै उनले भने–‘यसले काम गर्ने वातावरण विग्रन सक्छ ।’ भारत सरकारसँग सहमति गरेर १३५–१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित