संसदको विशेषाधिकारमा हस्तक्षेप नगर्न सभामुखको चेतावनी

काठमाडौं । यवस्थापिका, कार्यपालिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने सभामुख ओनसरी घर्तीले बताएकी छन् । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर घर्तीले महाभियोग लगाउने विषय संसदको विशेषाधिकार रहेको बताइन् । ‘महाभियोग कसरी अगाडि बढाउने भन्ने कुरा संसदको अधिकार हो’, सभामुख घर्तीले चेतावनीयुक्त शैलीमा भनिन्, ‘राज्यका तीनवटै निकाय आ–आफ्नो अवस्थामा बस्नु पर्छ ।’सभामुख घर्तीले राज्यका तीन वटै निकायबीच टकरावको स्थितिमा जानु भनेको आन्दोलनहरूबाट प्राप्त उलब्धि गुम्ने खतरा हुने बताइन् ।अहिले पनि केही नभएको भन्दै सभामुख घर्तीले भनिन्, ‘सहमति, सहकार्य र सम्वादबाट समस्याको समाधान गर्न सकिन्छ । सोही कारण आज १ बजे बोलाइएको संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेको छु ।’संसदमा अगाडि बढेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव र त्यसविरुद्ध सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको इजलासबाट आएको आदेशपछि संसद र न्यायालयबीच तिक्तता बढेको थियो । सोही क्रममा सभामुख घर्तीले पत्रकार सम्मेलन गरेर संसदको विशेषाधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित