ललितपुर महानगरको उदाहरणीय कार्य, साइकल खरीदका लागि २०० जनालाई सहयोग गर्ने

Lalitpur_1

 

 

ललितपुर । ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ ।

साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट शहर बनाउने योजनानुरुप मोबाइल एप्समार्फत साइकल प्रयोगकर्तालाई प्रोत्साहन गरिने बताए । उनले भने, “साइकल चलाउन इच्छुक तर खरीद गर्ने क्षमता नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएका छौँ । महानगरपालिकाको वातावरण सुधारका लागि बढी समय साइकल प्रयोग गर्ने व्यक्तिको पहिचान गरी उपहारको व्यवस्थासमेत गर्नेछ ।”महानगरपालिकाले ‘ग्रीन गेम’नामक परियोजनामार्फत विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउने उनको भनाइ छ ।

युएनडिपीका प्रतिनिधि मेदागन्गोडाले सो अभियानले साइकल चलाउन रुचि राख्नेलाई प्रेरित गर्ने धारणा राखे । उनले भने, “काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भौगोलिक कठिनाइ हुँदाहुँदै पनि महानगरपालिकाले पहिलो चरणमा लगनखेल, मङ्गलबजार र पुल्चोक हुँदै कुपण्डोलसम्म १० किलोमिटर साइकल लेन बनाएर मुलुकमै उदाहरणीय काम गरेको छ ।”यो अभियानले शहरको वातावरण संरक्षण गर्नुका साथै आउँदो पुस्तालाई सुन्दरता कायम राख्न जिम्मेवार बनाउने विश्वास समेत उनले लिए ।

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले अब बन्ने दोस्रो चरणको साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताए । उनले भने, “अब बन्ने लेनका लागि सम्बन्धित निकायसँग समेत छलफल भइसकेको छ ।”

साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती रहेको बताउँदै महानगरपालिकाले दोस्रो चरणअन्तर्गत अब २२ किलोमिटर लेन निर्माणको काम अघि बढाइने भएको जानकारी गराए । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वर्तमान समयमा वायु प्रदूषण बढिरहेको हुँदा साइकल प्रयोगकर्ता बढाउनसके मानव स्वास्थ्य जोखिममुक्त हुने विचार व्यक्त गरे ।

कार्यक्रममा महानगरपालिकाले साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत रु ५० लाख र २०७६÷०७७ को बजेटमा पनि ५० लाख छुट्याएर काम गरिरहेको जनाइएको छ ।  महानगरपालिकाले साइकल लेन बनाउँदा समेतसाइकल ऐन भने हालसम्म बनाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित