स्वास्थ्यमा करोडौ घोटला,पण्डित र अग्रवालको जालोभित्र मन्त्रीदेखी सचिवसम्म
अग्रवाल दाजुभाइका बाहेक अरु कुनै कम्पनीसँग नमिल्ने गरी प्राविधिक रुपमा स्पेसिफिकेसन तयार गरी लगत स्टीमेट तयार गर्दा अत्यधिक दररेट राखी भरतपुर अस्पतालका मेसु मरासिनीले करोडौं रुपैयाँ भ्रष्टाचार गर्न लागेका छन् । डा.मरासिनीले न्यूरो र अर्थोका लागि १६ करोड बजेट छु्ट्याएकोमा ८ करोड रुपैयाँको खरिद अग्रवालको बायोमेडमात्र खरिद गरी पचासौं लाख रुपैयाँ घुस खाएको आरोप छ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति भएका स्वास्थ्य मन्त्री गगनकुुमार थापा निकट राजकुमार राजभण्डारीको समेत भ्रष्टाचारमा मिलेमतो रहेको समाचार छ ।
भरतपुर अस्पतालमा दक्ष जनशक्ति नहुँदा पनि न्यूरो सर्जरीका लागि उमेशकुमार अग्रवाल र डा. मरासिनीको मिलेमतोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका न्यूरो सर्जरी डा. गुणराज पोखरेललाई राजीनामा गराई ल्याउने ब्यवस्था मिलाइएको छ । अग्रवालका उपकरण मात्र खरिद गर्नेगरी ठेक्का नम्बर ३६, ४० र ३४ मा स्पेसिफिकेसन तयार गरी अरु कसैले प्रतिस्पर्धा नै नगर्नेगरी बोलपत्रको ढाँचा तयार गरिएको छ । ठेक्का नंं ३८ को Hip and Arthoplasty set भन्ने औजार अस्पताललाई आवश्यक नै नभए पनि अग्रवालको बायोमेड इन्टरनेशनल र द मेडिकल सोलुसनबाट खरिद गरी ३ करोड ६४ लाख रुपैयाँ भ्रष्टाचार गर्न लागेका छन् । जोर्नी प्रत्यारोपण गर्दा जुन कम्पनीको इम्पाण्ट जोर्नीमा लगाउने हो, सोही कम्पनीले आफ्नो प्राविधिक र सम्पूर्ण औजारहरु लिएर आई जोर्नी प्रत्यारोपण गर्ने चलन छ । कुनै पनि अस्पताल वा जोर्नी प्रत्यारोपण गर्ने डाक्टरहरुले औजार किनेर अस्पतालमा राख्दैनन् ।
जोर्नी प्रत्यारोपणमा नाम चलेका डाक्टर निजामती अस्पतालका दीर्घराज आरसी, शिक्षण अस्पतालका दीपकप्रकाश महरा र अर्जुन लामिछाने, ग्रान्डीका चक्रराज पाण्डे, अर्थोपेडिक अस्पताल जोरापाटीका सन्जु प्रधान, बीएण्डबी अस्पतालका डा.अशोक बाँस्कोटाले जोर्नी प्रत्यारोपण गर्दा जुन कम्पनीको इम्पाण्ट जोर्नीमा लगाउने हो, सोही कम्पनीले ल्याउने गरेको छ । तर भरतपुर अस्पतालले आवश्यक नै नभएको जोर्नी Hip and Arthoplasty set खरिदका लागि टेण्डर गरेको छ । जुन सरासर भ्रष्टाचार हो भन्दै २०७४ बैशाख १९ गते अख्तियारमा उजुरी परेको छ । जुन उजुरीको दर्ता नम्बर १६७०४ हो ।
उक्त जोर्नी प्रत्यारोपण औजारको स्पेसिफिकेसन बनाउँदा पनि सम्पूर्ण रुपमा Smith and Nephew कम्पनीलाई मात्र हुुबहु मिल्नेगरी बनाइएको छ । उक्त कम्पनीको सामान उमेशकुमार अग्रवालका दाजुभाइ संचालक भएको द मेडिकल सोलुसनले आपूर्ति गर्दैआएको छ । भरतपुर अस्पतालका मेसु डा। मरासिनी जो आफैं हाडजोर्नीका डाक्टर हुन्, उनलाई यस्तो प्रत्यारोपणका औजारहरु कम्पनीले विनामूल्यमा लिएर आई सर्जरी गराई लैजाने कुरा थाहा हुँदाहुँदै आर्थिक प्रलोभनमा परी जोर्नी प्रत्यारोपणका औजारलाई मात्र ३ करोड ६४ लाख रुपैयाँ बजेट राखी अग्रवाल दाजुभाइसँग मिलेमतो गरी ठूलो रकम भ्रष्टाचार गर्न खोजेकाले बोलपत्र रद्द गर्न र दोषीलाई कारबाहीको माग उजुरीमा गरिएको छ ।समीर उपाध्यायले हालेको उजुरीमा स्मीथ एण्ड नेफ्युको स्पेसिफिकेसनको कपीसमेत राखेर अख्तियारमा उजुरी दिइएको छ । उजुरीमा बोलपत्रसँग सम्बन्धित सम्पूर्ण कागजातहरु झिकी बुझी छानबिनको माग गरिएको छ । सरकारी अस्पतालहरुले टेण्डरमा निश्चित कम्पनीको उपकरण मात्र खरिद गर्न मिल्ने स्पेसिफिकेसन बनाउने गरेका छन् । जुन स्पेसिफिकेसन अनुसार अरु कम्पनीको प्राविधिक प्रस्ताव नै अयोग्य भनेर प्रतिस्पर्धामै भाग लिन नदिई सेटिङ भएको कम्पनीबाट मात्र खरिद गर्दैआएका छन् । सार्वजनिक खरिद ऐन नियमले टेण्डरमा स्पेसिफिकेसनमा कुनै कम्पनीको सामान मात्र खरिद गर्ने गरी प्राविधिक प्रस्तावमा उल्लेख गर्न पाइँदैन । सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता हरिशरण पुडासैनीका अनुसार कुनै कम्पनीको उत्पादनसँग मिल्नेगरी फलानो पार्टपूर्जा हुनुपर्ने भनेर प्राविधिक प्रस्तावमा उल्लेख गर्नु भनेको मिलेमतो हो । गुणस्तर तोक्न पाइन्छ, तर कुनै निश्चित कम्पनीको फाइदाका लागि स्पेसिफिकेसनमा राख्नु भनेकै मिलेमतो हो, प्रवक्ता पुडासैनीले भने । भेरी अन्चल अस्पतालका लागि आवश्यक पर्ने हाई अर्थोस्कोपी मेसिनको टेण्डरमा अस्पताल प्रशासन, प्राविधिक टोली, हाडजोर्नी विभाग, बोलपत्रदाता अग्रवाल दाजुभाइको मेडिकल सोलुसन र बायोमेड इन्टरनेशनल बीच आपसी मिलेमतोमा अत्यधिक बढी दररेटमा खरिद गरिएको उजुरी परेकोमा अख्तियारले समेत हेरेको छैन ।२०७३ चैत ६ गते परेको उजुरीमा अख्तियारले छानबिन नगरेको गुनासो उजुरीकर्ताले गरेका छन् । भेरी अन्चल अस्पतालका हाकिम र अग्रवालको मिलेमतोमा हाई अर्थोस्कोपी मेसिन ६५ लाख रुपैयाँमा खरिद गरिएको छ । जबकि सोही मेसिन अग्रवाल बन्धुले मेट्रो अस्पताल महाराजगंजमा ४७ लाख रुपैयाँमा दिएको खुलेको छ । भरतपुर अस्पतालमा भ्याटबाहेक ५० लाख रुपैयाँमा सप्लाई गरेको थियो । यसले मेडिकल माफियासँग मिलेर भेरी अस्पतालमा २५ लाख भ्रष्टाचार भएको पुृष्टी गरेको छ । अग्रवालका कम्पनीसँग मिलेमतोमा प्राविधिक प्रस्तावमा स्मीथ एण्ड नेफ्यु कम्पनीको स्पेसिफिकेसनसँग हुबहु मिल्नेगरी स्पेसिफिकेसन तयार गरिएको थियो ।अर्थोस्कोपी मेसिनमा संसारका उत्कृष्ट कम्पनी Karl Storz Arthrex,stryker, Conmed, Richard Wolf जस्ता विश्व वरियतामा १ देखि ५ नम्बरमा पर्ने कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न नसकिने गरी स्पेसिफिकेसन तयार गरेको खुलासा भएको छ । भ्रष्टाचार गरेको प्रमाणसहित दिएको उजुरीमा छानबिन नभएपछि अख्तियारसमेत मेडिकल माफियाको प्रभावमा परेको त होइन भन्ने प्रश्न उठेको छ । हस्पिटेक र बायोमेडसँग मिलेर गरिएका भ्रष्टाचारका ५७ वटा उजुृरीमा कुनै कारबाही हुन सकेको छैन । उल्टै लोकमानसिंह कार्कीको पालामा हस्पिटेक र अग्रवालविरुद्ध परेका करोडौं रुपैयाँ भ्रष्टाचारका उजुरी तामेलीमा राख्ने काम भएको थियो ।दृष्टिन्युजबाट
प्रतिक्रिया