दावा गोलीकाण्डमा डनहरूको करोडौंको स्वार्थ

काठमाडौं, २१ वैशाख । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको झण्डै एक महिना वित्न लाग्दा पनि प्रहरीले घटनाका विषयमा कुनै पनि सुईको पाउन सकेको छैन । लामा आफ्ना सहयोगीहरुको डिजाइनमा चल्दा र घटनाबारे प्रहरीलाई असहयोग गरेका कारण महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरले अहिलेसम्म घटनाको यथार्थ बाहिर ल्याउन नसकेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रहरी स्रोतका अनुसार काभ्रेली समूह र चितवनमा गुण्डागर्दी गर्दै आएको एक समूहले पैसा वार्गेनिङका लागि केही व्यक्तिहरू विरुद्ध प्रहरीमा जाहेरी दिन लगाएर घटनाका मुख्य अभियुक्तलाई छुटकारा दिई निर्दोषलाई फसाउने षड्यन्त्र गरेका छन् ।

सोही षड्यन्त्रलाई पूरा गर्न दावाका सहयोगी इन्द्रकमल बुढाथोकीले गत साता राम गिरी र राजन श्रेष्ठविरुद्ध बौद्ध प्रहरीमा किटानी जाहेरी हालिएको भन्दै विभन्न सञ्चारमाध्यमहरूमा इमेल पठाउन लगाएका थिए ।

यद्यपि क्लव डेबाजुका सञ्चालक गिरी र श्रेष्ठविरुद्ध बौद्ध प्रहरीमा भने कुनै जाहेरी परेको छैन । दावा र बुढाथोकीले गिरी र श्रेष्ठसँग रकम असुल्नकै लागि बार्गेनिङ टुल्सका रुपमा उक्त हतकण्डा अपनाएको प्रहरीमा चर्चा छ । केही समय अघि गिरीद्धारा सञ्चालित उक्त क्लवमा दावाको समूहले गिरीमाथि आक्रमण गरेको थियो । त्यस लगत्तै गिरीले प्रहरीमा दावाविरुद्ध जाहेरी दिएका थिए ।

त्यसैको प्रतिसोध स्वरुप र उक्त क्लवबाट जवर्जस्ती सेयर हत्याउनकै लागि दावाले गिरीविरुद्ध जाहेरी हाल्न लागेका हुन् । चितवनको टाँडी घर भएका बुढाथोकी चितवनकै कमीला समूहमा रहेर गुण्डागर्दी र प्रहरीमा दलाली गर्दै आइरहेको प्रहरी अधिकारीहरु बताउँछन् । बनमन्त्री शंकर भण्डारी र दीपक मनाङ्गे निकट रहेका बुढाथोकीले दावाबाट पछिल्लो समय पीडित बनेका गिरी र श्रेष्ठविरुद्ध जाहेरी हाल्नुपर्छ भन्दै उचालेर बार्गेनिङ गरिरहेको स्रोत बताउँछ । दावाले विभिन्न व्यक्तिहरुबाट लुटेको पैसामा मोजमस्ती गर्दै आएका बुढाथोकीको कुनै पेशा नभएपनि उनी बेला बेला विदेश पुग्छन् भने दरबारमार्गका महंगा रेष्टुरेन्टहरुमा बसेर दलाली समेत गर्न भ्याउँछन् ।प्रहरीमा दलाली गर्ने बुढाथोकीले उक्त झुटो जाहेरी हालेको हल्ला गराई प्रहरीबाटै गिरी र श्रेष्ठसँग करोडौं बार्गेनिङ गर्न लगाएको समेत चर्चा छ । जबकी उक्त गोली काण्डमा उनीहरुको कुनै संलग्नता नभएको महानगरिय अपराध महाशाखा र परिसरको टोलीले गरेको छानविनबाट पुष्टि भइसकेको छ । लामामाथि चैत २९ गते बिहान गुह्ेश्वरी नजिक दिब्या पार्टी प्यालेसमा गोली प्रहार भए लगत्तै काठमाडौंका एसएसपी छविलाल जोशी र केही व्यक्तिलाई लोप्साङ राई नाम गरेका व्यक्तिले फोन गरी घटनाको जिम्मेवारी लिएको दावी गरेका थिए । राई दावाका मुख्य दुस्मन रहेका समिरमानसिंह बस्नेतका सहयोगी हुन् ।कहिले भारतको दिल्ली त कहिले बैंङकक बसेर राजधानीमा असुली धन्दा मच्चाउँदै आएका बस्नेतले दावामाथि गोली प्रहार गर्न लगाएको निष्कर्षमा प्रहरी पुग्नलाग्दा पनि दावाले नै सूचना लुकाएर प्रहरीलाई नै असयोग गरेका छन् ।यता, काभ्रेली समूहका नाइके गणेश लामा, विष्णु लामा र प्रदीप बोगटीसँग पनि बेला वखत दावाको लफडा हुँदै आएको छ ।तर, पछिल्लो समय गणेश लामाले भने दावालाई सहयोग गर्दै आएका छन् । गणेशले पनि आफूसँग रिसिवी साँध्ने व्यक्ति, ठमेल र दरबारमार्गमा काभ्रेली समूहलाई टक्कर दिने गरी रेष्टुरेन्ट र क्लवमा लगानी गरेका व्यापारी तथा आफ्नो व्यवसायमा धक्का दिने खालका व्यक्तिलाई मुछेर प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी दिन दावालाई उकासेका छन् । उता, गुन्डा नाइके दावा लामालाई नेपाली कांग्रेसका सांसद तीर्थ लामाले सहयोग गर्दै आएका छन् ।दावा लामाका अपहरण, हत्या, गुन्डागर्दी, जबरजस्ती असुली जस्ता गैरकानूनी क्रियाकलापलाई राजनीतिक संरक्षण दिने गरेका छन् । सांसद लामाले नै दावा लामा गोलीकाण्डको अनुसन्धानमा असहयोग गरेर आफ्ना दुश्मनहरूलाई छानिछानी तह लगाउने कार्य गरिरहेको खुलेको छ । दावा लामा गोलीकाण्डमा फस्ने डरले नै कांग्रेस सांसद तीर्थ लामाले प्रहरीलाई अनुसन्धानमा अहसयोग गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित