३४ जिल्लामा मनोनयन दर्ता हुँदै, बढ्यो निर्वाचनको रौनक

काठमाडौं : पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लाका उमेद्वारहरूले आज मनोनयन दर्ता गर्दै छन् । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यो सँगै ३४ जिल्लामा निर्वाचनको माहोल तातेको छ । दलहरुले धमाधम उम्मेद्वारहरुको टुंगो लगाइरहेका छन् । पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा निर्वाचन हुनेछ । प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् । त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् । पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् । वैशाख ३१ मा देशभरका लागि एकै दिन घोषित निर्वाचनलाई सरकारले वैशाख १० मा दुई चरणमा गर्ने निर्णय लिएको थियो । संविधान संशोधन र स्थानीय तहको संख्या थपी मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले तराईका जिल्लाहरूसहित चारवटा प्रदेशका ४३ (दुई÷दुई प्रदेशमा पर्ने नवलपरासी र रुकुमसहित) जिल्लाको निर्वाचन दोस्रो चरणमा सारिएको हो । तराईका २० जिल्लामध्ये चितवन मात्र पहिलो चरणमा परेको छ । नवलपरासीको ८ र रुकुमको ६ वटा स्थानीय तहमा पहिलो चरणमा तथा नवलपरासीको ७ र रुकुमको ३ स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछन् । ती दुई जिल्ला टुक्रिएर दुईवटा प्रदेशमा विभाजित भएकाले प्रदेशअनुसार दुईरदुई चरणमा निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा ७ हजार मतदान केन्द्रमा मतदान हुनेछ । देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको छ । त्यस्तै, १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये ५० लाखले पहिलो चरणमा मतदान गर्नेछन् । राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिने व्यक्तिले आफ्नो मनोनयन पत्रसँगै सम्बन्धित दलले दिएको औपचारिक पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन ऐनले वडा सदस्यका लागि ५ सय, वडाअध्यक्षका लागि १ हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकेको छ । सोमबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले महिला, दलित, अल्पसंख्यक लगायतको हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको बताए । आर्थिक रूपले विपन्न उम्मेदवारले पनि उक्त सुविधा पाउनेछन् । ऐनले वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएकालाई आर्थिक रूपले विपन्न भनेको छ । छुटका लागि आवश्यक सिफारिस सम्बन्धित गाउँपालिका वा नगरपालिकाले गरेको हुनुपर्छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकामा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडाबाट चार जना सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । एक जना मतदाताले ७ पदका लागि मत हाल्न पाउनेछन् । कुनै एक व्यक्तिले एकभन्दा बढी पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था छ । अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुखमा दुवै पदमा उम्मेदवारी दिने दलले कुनै एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । त्यस्तै चारजना वडा सदस्यमा एक दलित महिलासहित दुई महिला सदस्यका लागि सिट आरक्षित गरिएको छ । मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवार हुने व्यक्ति २१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम हुनुपर्छ । उम्मेदवारको मनोनयनपत्रमा वडाअध्यक्षरसदस्य उम्मेदवारीको हकमा सम्बन्धित वडाका र अध्यक्षरउपाध्यक्ष तथा नगरका प्रमुखरउपप्रमुखको हकमा सम्बन्धित गाउँ वा नगरक्षेत्रमा मतदाता रहेका एक जना प्रस्ताव र अर्को एकजना समर्थकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । मनोनयनपत्रसँगै उम्मेदवारले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण बुझाउनुपर्छ । दलित महिला सदस्यका लागि उम्मेदवारी दिनले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दलित समुदायको हो भनी प्रमाणित गरेको पत्र दिनुपर्छ । संविधान र ऐनले उम्मेदवारका लागि कुनै शैक्षिक योग्यता तोकेको छैन । तर, आयोगले तयार पारेको मनोनयन फर्ममा शैक्षिक योग्यता र सम्पत्ति विवरणसहितको व्यक्तिगत विवरण उम्मेदवारले भर्नुपर्ने छ । यस्तो छ निर्वाचन कार्य तालिका मनोनयन दर्तासँगै बैशाख ३१ को निर्वाचन नसर्ने करिब करिब निश्चित् बनेको छ ।  आज ५ बजेसम्म मनोनयन दर्ता गरेसँगै निर्वाचन आयोगले आजै बेलुका ५ः३० बजे उमेद्वारको सूची प्रकाशन गर्नेछ । यस्तै उम्मेदवारको विरोधमा उजुरीका लागि बैशाख २० गते विहान १० बजेदेखि १ बजेसम्मलाई तोकिएको छ । यस्तै बैशाख २० गते दिउसो १ बजेदेखि २१ गते बिहान ११ः३० बजेसम्म् मनोनयनपत्र जाँच गर्ने कार्यक्रम छ । त्यसैगरी बैशाख २१ गते  नै ११ः३० देखि १ बजेसम्म उमेद्वारको नामावली प्रकाशन,  २१ गते १ बजेदेखि ५ बजेसम्म उमेद्वारले नाम फिर्ता लिन, बैशाख २२ गते १० देखि ११ बजेसम्म अन्तिम नामावली प्रकाशन,  बैशाख २२ गते ११ देखि ५ बजेसम्म उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र बैशाख ३१ गते  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।  यो सँगै आजैबाट उमेद्वारलाई निर्वाचन आचारसंहिता लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित