नेपाल धितोपत्र बोर्ड सेबोनद्वारा वित्तीय विवरण सार्वजनिकमा कडाइ

dhito-board
काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड सेबोनले सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक गर्न लागि कडा व्यवस्था लागू गरेको छ । बोर्डले कम्पनीहरूको प्रमुख वित्तीय परिसूचकहरू अनिवार्य आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको हो ।

कम्तीमा पछिल्लो ५ आर्थिक वर्षको संस्थाको पूँजी, वार्षिक आम्दानी खर्च, जगेडा कोष, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ र लाभांशलगायत महत्त्वपूर्ण परिसूचकहरूको विवरण चार्टसहितको प्रोफाइल बनाई वेबसाइटमा राख्न बोर्डले निर्देशन दिएको छ । धितोपत्रमा लगानी गर्न सूचना अति आवश्यक हुने भएकाले सूचीकृत कम्पनीहरूले नेप्सेमा पेश गरेका वार्षिक प्रतिवेदनलगायत विवरण अनिवार्य नेप्सेले पनि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।
नेप्सेले उक्त विवरण समयमै प्राप्त गरी कम्तीमा ५ वर्षसम्म आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको हो । बोर्डले सूचीकृत कम्पनीहरूले उल्लिखित वित्तीय विवरणहरू आफ्नो वेबसाइटमा राखे नराखेको यकिन गर्न भने नेप्सेलाई जिम्मेवारी दिएको छ ।

बोर्डले फागुन मसान्तदेखि यो व्यवस्था कार्यान्वयन गरे नगरेको अनुगमन गर्ने जानकारी दिएको छ । निर्देशन पालना नगरेको पाइएमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा दण्ड जरीवाना गर्नेसमेत बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले सूचीकृत कम्पनीहरूको वित्तीय प्रतिवेदनहरू सार्वजनिकका विषयमा कडाइ गर्दै आएको छ । यसअघि पनि वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण बोर्ड तथा नेप्सेलाई समयमै उपलब्ध नगराएको भन्दै बोर्डको निर्देशनमा १३ कम्पनीको शेयर कारोबार रोक्का गरिएको थियो । सूचीकृत संगठित संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र बोर्ड र नेप्सेलाई वार्षिक प्रतिवेदन उपलब्ध गराइसक्नुपर्नेछ ।
आजको आर्थिक अभियानमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित