४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगकोअनुमान 

काठमाडौं ।निर्वाचन आयोगले   दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान  गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ । निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ । अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । कतिपय जिल्लामा सर्वदलीय बैठकपछि मतगणना सुरु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित