के–के हुन् त भारतबाट नेपाल फर्कनेका लागि गृह मन्त्रालयको ३ शर्त ?
काठमाडौँ - छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ ।
अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।
नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन । ‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । १० चैत २०७६ देखि नेपाल–भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो ।
फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकामा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको उनले जानकारी दिएका हुन् । ‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढाले राजधानीसँग भने ।
यसैगरी, आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले सबैमा आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर १ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया