गृहसचिव न्यौपानद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले आकस्मिक रुपमा प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । बुधबार प्रधान कार्यालयको निरीक्षण गरेका गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए ।
उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन् । उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए।
गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा गृह मन्त्रालयले छलफल अगाडि बढाएको चर्चा गरेका छन। यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्यौरटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्नुपर्नेमा उनले जोड दिए। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण समसामयिक र सान्दर्भिक निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोध सहित कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। प्रहरी कर्मचारीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो।
प्रतिक्रिया