स्मार्टलाई एनसेलमा गाभेर ५० प्रतिशत सेयर हात पार्ने दाउमा सतिशको समूह,सिए पनि हटाइयो

काठमाडौं । सरकारलाई ३५ अर्व लाभकर बुझाउन अटेर गरिरहेको मोवाइल सेवा प्रदायक कम्पनी एनेसलभित्र ठूलो विवाद बढेको छ । एकातर्फ कर छली रोक्नु पर्ने माग गर्दै एनसेलकै डिलर एशोसियसनले आन्दोलन गरिरहेको छ भने अर्कोतर्फ नेपाली र विदेशी कर्मचारीहरुबीच टक्कर बढ्न थालेको छ । गैरकानुनी भिसामा बस्दै आएका एनसेलका प्रवन्ध निर्देशक सिमोन पर्किन्सनलाई  राजिनामा गराउन सतिशलाल आचार्यको समूहले बाध्य बनाएको छ । आचार्य उनै व्यक्ति हुन्, जो एनसेलको ८० प्रतिशत सेयर मलेसियन कम्पनी एक्जिएटालाई विक्री गराएर २० प्रतिशत सेयर हत्याउन सफल भएका थिए ।

स्रोतका अनुसार मिडियामा एनसेलका गोप्य सूचना चुहाएको, महालेखा परिक्षकको कार्यालयसँग समन्वय गरी कर विवाद नमिलाएको आरोपमा चार्टर एकाउन्टेन्ट विष्णु भण्डारीलाई पनि गत साता आचार्यको समूहले हटाइसकेको छ । त्यसैगरी सिमोनसँग नजिकिएर काम गरेकी सञ्जु कोइरालालाई पनि मार्केटिङ विभागबाट हटाई जगेडामा राखिएको छ । आचार्यले आफ्नै नातेदारलाई एनसेलको डिस्टिब्यूटर बनाउन खोज्दा सिमोन र कोइरालालगायतले विरोध गरेका थिए ।

एनसेलका एक कर्मचारी भन्छन्–‘अहिले एनसेलको अवस्था यस्तो छ कि २० प्रतिशत सेयर भएकाको अधिकार ८० प्रतिशतको भन्दा बढि छ । आचार्य एनसेल नै बन्द गराउने डिजाइनमा लागेका छन् ।’ एनसेललाई कमजोर बनाई उनले स्मार्ट टेलिकमलाई एनसेल भित्र गाभ्न खोजेको समेत चर्चा छ । एनसेल स्रोतका अनुसार एनसेलका विटिएस टावर, उपकरण र विभिन्न पूर्वाधारहरु स्मार्ट टेलिकमले प्रयोग गर्दै आइरहेको छ । यसरी अर्कै कम्पनीको पूवाधार प्रयोग गर्दा सरकारलाई अरबौं राजश्व घाटा भएको भन्दै दूरसञ्चार प्राधिकरणले आफ्नै पूर्वाधारहरु बनाउन स्मार्टलाई निर्देशन दिएको थियो ।

तर, स्मार्टमा समेत भित्रि रुपमा सेयर रहेका सतिशलालले त्यसको निर्देशन पालना नगरि एनसेललाई कमजोर बनाएर स्मार्टलाई नै एनसेल भित्र गाभ्ने योजना बनाएका छन् । यतिसम्मकी एनसेल जस्तो पूर्वाधारमा निपुण कम्पनीले कर नतिरेकै आधारमा फोर जीको लाइसेन्स पाएको छैन । तर, शतिशलालले प्राधिकरण, आन्तरिक राजश्व विभाग र सूचना तथा सञ्चार मन्त्रालयलाई नै प्रभावमा पारी स्मार्टलाई फोर जीको लाइसेन्स दिलाउन लागि परेका छन् ।

यस बारेमा एनसेल स्रोत भन्छ –‘आचार्यको समूह यति बलियो छ कि अब विदेशीहरुलाई समेत उनीहरुले ब्ल्याकमेलिङ गरी लखेट्न खोजेका छन् । आफै व्यवस्थापन होल्ड गरी गैरकानुनी भिसामा विदेशीलाई काम गर्न बोलाउने र आफूले भनेजस्तो काम नगरेपछि गैरकानुनी भिसामा बसेको भन्दै उनीहरुमाथि अत्याचार गरेका छन् । एनसेलमा स्मार्टलाई गाभेर ५० प्रतिशत सेयर हात पार्न आचार्यको समूह यतिखेर हात धोएर लागेको छ ।’त्यसो त एनसेलको ३५ अर्व लाभकर प्रकरणका मुख्य दोषी अख्तियार दुरुपयोग आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एक्जियटाको साझेदार बनेका सतिशलाल आचार्यको स्मार्ट टेलिकममा ३० प्रतिशत शेयर बिक्री गर्दा ठूलो आर्थिक चलखेल गरेका थिए ।स्मार्टमा तीन साझेदारमध्ये एक लालसाहु डिष्ट्रिब्युटर्ससँग भएको शेयर सतिशले सेसिल्सको कस्बो इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्दा लोकमानको अनुमती लिए पनि उद्योग विभागलाई गुमराहमा राखेका थिए । पछि स्मार्टमा भएको ९६ हजार कित्ता शेयर प्रतिकित्ता सय रुपैयाँमा बिक्री गर्न लागेको जानकारी उद्योग विभागलाई दिएका थिए ।स्मार्टमा भएको लाल साहु डिष्ट्रिब्युटरको शेयर एनसेलको डिल मिलाउनकै लागि लोकमानले चलखेल गरेका थिए । लोकमानकै मिलेमतोमा १० अर्व पर्ने स्मार्टको ३० प्रतिशत शेयरको भ्यालुएशन ९६ लाख रुपैयाँ मात्रै कायम गरी अर्वौ राजस्व छली गरिएको थियो । शतिशले एनसेलमा क्रस होल्डिङ छलेको देखाउन लालसाहुको सेयर सिंगापुरकै नागरिक नियो काये रुवेनको नाममा नामसारी गरेका थिए । तर, त्यो सेयर भने भित्री रुपमा सतिशकै रहेको उद्योग विभागका कर्मचारीहरुले बताउँदै आएका छन् ।दूरसञ्चार क्षेत्रमा माफियाका रुपमा परिचित भावना श्रेष्ठका श्रीमान सतिश र उनका भाइ सचिनलालले नेपालदेखि अफ्रिकासम्मका अविकशित देशहरुमा दूरसञ्चारको लाइसेन्स ओगटेर बसेका छन् ।दूरसञ्चार ऐनमा एउटै कम्पनीले क्रस होल्डिङ गरी दुईवटा कम्पनीमा संलग्न भएर व्यापार गर्न मिल्दैन । तर, आचार्य दाजुभाइले भित्रिरुपमा स्मार्ट टेलिकममा लगानी गरेका छन् भने अर्कोतिर एनसेलमा आफ्नै परिवारको नाममा शेयर खरिद गरी दोहोरो कारोबार गरेर क्रस होल्डिङ गरेका छन् ।सर्वसाधरण जनताले आफ्नो बैंक खातामा १० लाख रकम जम्मा गर्दा आयस्रोत देखाउनु पर्ने राष्ट्रबैंकको नियम छ । तर, भावना र सतिशलालले ३४ अर्वमा एनसेलको २० प्रतिशत सेयर खरिद गर्दा कहाँबाट त्यत्रो रकम ल्याए ? यसबारेमा न त राष्ट्रबैंकले छानविन गर्न सकेको छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्दिकरण विभागले नै । यता, राज्यका सबै निकायलाई गुमराहमा पार्न सफल एनसेलको स्थानीय साझेदार शतिशको समूहसँग हस्तक्षेप बढेपछि एक्जीएटा कम्पनी नै सतिशसँग रुष्ट बनेको छ । एनसेलको कर विवाद समाधान गर्ने उपाय तथा कम्पनीको आन्तरिक व्यवस्थापन लगायतका विषयमा सिइओ सिमोन र आचार्य समूहबीच ठूलो विवाद थियो । एनसेलमा सतिशका भाई सचिनलाल आचार्य बोर्ड डाइरेक्टर छन् ।स्रोतका अनुसार सचिनलालले पनि विदेशीहरुसँग झगडा गर्दै आएका छन् । सिमोन नेपाल सरकारसँगको कर विवाद सल्टाएर बिजनेस बढाउनुपर्छ भन्ने पक्षमा थिए । उनले त्यहीअनुसार एक्जियटाको व्यवस्थापनलाई रिपोर्टीङ समेत गरेका थिए । दुई महिना अघि एनसेल कर विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पुग्नु अघि सिमोन ठूला करदाता कार्यालय समेत पुगेका थिए । उनी त्यहाँ एनसेलको तर्फबाट भुक्तानी गरिदिनुपर्ने अग्रिम करवापतको करिव १४ अर्व रुपैयाँ तिर्ने प्रतिवद्धता जनाउँदै विदा भएका थिए । उनले त्यहीअनुसार एक्जियटाको बोर्डलाई रिपोर्टिङ गरेको समेत स्रोतहरुले जानकारी दिए ।तर, सिमोनको प्रयास विपरित आचार्यले कर नतिरि मिलाउने लाईन लिएपछि दुवै बीच ठूलो विवाद समेत भएको थियो । सिमोनको कर तिर्ने प्रस्तावविपरित आचार्यले कर भुक्तानी नगरी विवाद टेलिया तिर पन्छाउन प्रस्ताव प्रधानमन्त्री प्रचण्डकहाँ पु¥याएका थिए । त्यही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डले कर टेलियासँग उठाउने गरी क्याविनेटबाट निर्णय गराएका थिए ।जुन निर्णयले व्याकफायर गरेपछि उनी आफ्नो प्रस्तावबाट पछि हट्नु परेको थियो ।  त्यसो त आचार्य साझेदार भएर आएपछि एनसेलमा उनको हस्तक्षेप समेत बढेको छ । आचार्यले कर्मचारीको नियुक्ति, सरुवा बढुवादेखि एनसेलले गर्ने खरिदमा समेत हस्तक्षेप गरेका छन् । गाडी किन्नेदेखि घर भाडमा लिनेसम्म आचार्यको इन्ट्रेस्ट देखिन्छ, एनसेल स्रोतले भन्यो । टेलिया रहँदासम्म स्वतन्त्र रुपमा काम गरेका कर्मचारी स्थानीय साझेदारको हस्तक्षेपबाट दिक्क भएका छन् । उनीहरुले यसको रिपोर्टिङ प्रवन्ध निर्देशक सिमोनलाई गरेका थिए ।-यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित