मनकामना जाँदै हुनुहुन्छ ? भोलीदेखि सञ्चालनमा आउने भयो केबुलकार

कुरिनटार । मनकामना दर्शन प्रालिले आगामी सोमबारबाट मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आउने जानकारी गराएको छ । कम्पनीले यसअघि ३१ चैत (मंगलबार)बाट केबलकार सुचारु हुने जानकारी गराएको थियो ।

कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न हुने भएकाले निर्धारित मितिभन्दा एक दिनअगावै केबलकार सञ्चालनमा आउने जानकारी दिएको हो ।

मनकामना केबलकारले २३ वर्षअघिबाट सेवा सुरु गरेको हो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने रणनीति लिएको कम्पनीले जनाएको छ ।

हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबुल लट्ठा बदल्ने, सञ्चार केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी अत्याधुनिक प्रविधियुक्त बनाउने कम्पनीले तयारी थालेको छ ।

यी तीन चरणमा काम गर्न २ वर्ष समयावधि चाहिने र नयाँ प्रविधिसहित २५औं बार्षिकोत्सव मनाउने तयारी गरिएको कम्पनीले जनाएको छ। यो बीचमा नियमित मर्मत सम्भार र अन्य कामका लागि पटकपटक सेवा अवरुद्ध हुनसक्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका कार्यकारी सञ्चालक राजबाबु श्रेष्ठले यसबीचमा पनि सेवा सञ्चालनलाई अधिकतम् सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित