श्रीमतीको हत्या गर्ने पोखरेलले भने –  स्कुटरमा छोड्न आएको केटासँग बाटैमा चुम्मा खाएको देखें, त्यसैले हत्या गरेँ !

arrese

दाङ । श्रीमतीलाई ढुंगा प्रहार गरि हत्या गर्ने आरोपितले श्रीमतीको चरित्रका कारण आफुले हत्या गरेको स्वीकार प्रहरीसमक्ष गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरि मंगलबार राति साढे ९ बजेतिर २५ बर्षीया श्रीमती बिपना रेग्मीको हत्या गरेका थिए ।

श्रीमतीको हत्या पछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्रका कारण आफु आबेगमा आएर हत्या गरेको प्रहरी समक्ष बयान गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए ।

पक्राउ परे लगतै ती व्यक्तिले श्रीमतीको चरित्रमाथि दोषारोपन गर्न खोजेका छन् ,’ डिएसपी सिंहले भने ‘ घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’

पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।

पदमका अनुसार उनकी हत्या गरिएकी श्रीमतीले तुलसीपुरको बसपार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् ।

उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष गरेको डिएसपी सिंहले बताए । त्यो कुरा पदमलाई ब्यक्तिगतरुपमा मन नपरेको र पछि आबेगमा आएर श्रीमतीको हत्या गरेको आरोपितले स्विकार गरेको प्रहरीको दाबी छ ।

घटना भएको दिनपनि आफ्नी श्रीमतीलाई छोड्न रातिमा एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चुम्मा खाएको आफुले देखेको दाबी पदमको छ,’ डिएसपी सिंहले भने ‘ त्यही कारण डेरा तर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बिबाद भइ घटना हुन गएको भन्ने उनको दाबी छ ।’

घटना भन्दा दूई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए ।

श्रीमान र श्रीमतीबीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान् पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भएपनि उनलाई नलागेको र त्यसपछि आफुले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको भन्ने दाबी गरेको डिएसपी सिंहले बताए ।

बिदेशबाट घर फर्किएपछि पदमले एक हप्ता अगाडि मात्रै श्रीमतीको आग्रहमा श्रींगैमा कोठा भाडामा लिएर बस्न थालेको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्या अभियुक्तलाई ज्यान मुद्दा चलाएर कारवाही सुरु हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित