अमेरिका जाने डिभी चिठ्ठा-२०२२ को नतिजा आज, कसरी हेर्ने त डिभी रिजल्ट ?

DV

काठमाडौं । डिभी चिठ्ठा २०२२ को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो ।

अमेरिकाको न्युयोर्क समय अनुशार मे ८ तारिख अपरान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ (सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला ।

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि  https://dvprogram.state.gov/  मा गई Entrant Status Check मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२  का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।

योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०२२ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पछि डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी गर्न प्राथमिकता नदिनुले अन्यौल बढेको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित