अरुणमा बाढि आउँदा बरुण थुनियो, सावधानी अपनाउन प्रशासनको आग्रह, क्षति हुन नदिन गृहमन्त्रीको निर्देशन

Arun-and-barun-Riverकाठमाडौं : बिहीबार दिउँसो ४ बजेतिर वरुण नदीमा आएको पहिरोले संखुवासभा भोटखोला गाउँपालिकाअन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएपछि त्यसबास हुनसक्ने जोखिम कम गर्न स्थानीय प्रशासनले प्रभावित स्थानका सर्वसाधारणलाई सुरक्षित रहन सावधानी गराएको छ । घटनाबाट विशेषगरी संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, सप्तरी जिल्लाका नदी किनार आसपासका स्थान प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित रहन सजक गराइएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्यहाँको पानी सावधानीपूर्क निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । वरुण नदी आएर अरुण नदीमा आएर मिसिन्छ । नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण वरुण बजारको चारवटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा छ । गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाका तीनजना प्राविधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप विभागका प्रतिनिधि लगायत छन् । घटनास्थल संखुवासभा सदरमुकामबाट दुई दिन पैदल दूरीमा पर्छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको बताइएको छ । पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटो समेत बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली शुक्रबार बिहान पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित