गुण्डा नाइकेको गोली काण्डमा डनको यो कस्तो स्वार्थ

donlameकाठमाडौं । गुण्डागर्दी र अवैध असुुलीमा कहलिएको काभ्रेली समूहले दावा लामामाथि भएको गोली प्रहारको घटनाप्रति प्रहरीले फितलो अनुसन्धान गरेको आरोप लगाएको छ । पेशेवर गुण्डा नाइकेका रुपमा परिचित लामामाथि चैत २९ गते बिहान गुह्ेश्वरी नजिक दिब्या पार्टी प्यालेसमा प्रहार भएको गोलीकाण्डबारे प्रहरीले छुट्टा–छुट्टै कोणबाट अनुसन्धान गरिरहेको बेला केही दिन अघि बौद्धमा भएको काभ्रेली समूहको बैठकले प्रहरीको अनुसन्धानप्रति आपत्ति जनाएको स्रोतले बताएको छ । छुट्टा–छुट्टै उपसमूह खडा गरेर काभ्रेली समूहले राजधानीलगायतका जिल्लाहरुमा हुने ठेक्का पट्टा देखि अबैध असुलीमा आतंक मच्चाइरहेको बेला दावा गोलीकाण्ड पछि भने एक ढिक्का भएर अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।

उक्त समूहका नाइके गणेश लामाले आफूसँग रिसिवी साँध्ने व्यक्ति, ठमेल र दरबारमार्गमा काभ्रेली समूहलाई टक्कर दिने गरी रेष्टुरेन्ट र क्लवमा लगानी गरेका व्यापारी तथा आफ्नो व्यवसायमा धक्का दिने खालका व्यक्तिलाई मुछ्ने गरी प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी दिन दावालाई उकासेका छन् । आफूमाथि भएको गोली प्रहार लगत्तै दावाले प्रहरीले नै गोली हानेको आशंका गरेका थिए ।

स्रोतका अनुसार गणेश लामाको सल्लाहपछि दावाले ठमेल र दरबारमार्गमा काभ्रेली समूहलाई चुनौती दिने व्यापारीको नाममा किटानी जाहेरी दिन लागेका छन् । तर, प्रहरीले भने कसैको रिसिवी र व्यक्तिगत पूर्वाग्रहका आधारमा अनुसन्धान नगरी जाहेरी नै लिन नहुने ठमेलका एक रेष्टुरेन्ट व्यापारी बताउँछन् । गल्फुटार बस्ने काभ्रेली समूहका सदस्य नवाङ तामाङले तीन दिन अघि बौद्धको एक पार्टी प्यालेसबाट ठमेलको एक क्लवमा काम गर्ने व्यक्तिलाई उठाएर गणेश लामासम्म पु¥याई गोली काण्डको विषयमा सोधखोज गरेपछि ठमेलका व्यापारीहरु आतंकित बनेका हुन् । त्यस्तै दावासँग पछिल्लो समय झगडा भएका राम गिरी र राजन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिनुपर्ने भन्दै काभ्रेली समूहले दावालाई उकासीरहेको छ । महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी परिसर भने पृष्ठभूमि नै शंकास्पद र आपराधिक प्रवृत्तिको रहेका दावाले कोही व्यक्तिविरुद्ध पूर्वाग्रही साँध्नकै लागि किटानी जाहेरी दिएपनि त्यसलाई सुक्ष्म रुपमा अनुसन्धान नगरी पक्राउ गर्ने वा दुःख दिने पक्षमा छैन । अपराध महाशाखाका एक प्रहरी अधिकारी भन्छन्–‘घटनाको विषयमा दावाले ज–जसलाई नाम पोलेपनि प्रहरीले आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । र, चाँडै नै निष्कर्ष निक्लदै छ ।’ महाशाखा स्रोतका अनुसार घटनाका योजनाकार कहिले दिल्ली त कहिले बैङककमा लुकेर बस्दै आएका बाफलका डन एवम् दावाका पुराना दुस्मन समिरमानसिंह बस्नेत हुन् ।

बस्नेतकै योजनामा लोप्साङ राइले दावामाथि सुटर प्रयोग गरी गोली प्रहार गरेको अन्तिम निष्कर्षमा प्रहरी पुग्न लागेको छ । काठमाडौं, धादिङ, रसुवा, काभ्रे, रामेछाप लगायतका जिल्लाहरुमा दावाले एकछत्र राज गरेको भन्दै बस्नेतको समूहले चेतावनी स्वरुप दावामाथि गोली प्रहार गरेको हुनसक्ने प्रहरी स्रोत बताउँछ । बस्नेत प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ उर्फ घैंटेका मुख्य सहयोगी हुन भने घैंटे र दावाको पुरानो समयदेखि दुस्मनी रहेको थियो ।

दावाले घटनाको अनुसन्धानमा प्रहरीलाई असहयोग गरिरहेको समेत बुझिएको छ । यसअघि अर्का गुण्डा नाइके रोज राणामाथि पुरानो बानेश्वरमा खुकुरी प्रहार हुँदा उनले आफूलाई राजनीतिक प्रतिशोध साँध्न प्युठानका कार्यकर्ताहरुले आक्रमण गरेको झुटो बयान प्रहरीलाई दिएका थिए । तर, अपराध महाशाखाले भने प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको कारोबार विगार्दा सोही समूहकै व्यक्तिले राणामाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै आक्रमणकारीहरु सार्वज्निक गरेको थियो । दावामाथिको गोली प्रहारको घटनामा पनि यहि प्रवृत्ति दोहोरिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित