आगामी वर्षको बजेट अध्यादेशमार्फत आज आउँदै

Budget_2078

काठमाडौं । सरकारले आजै आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने भएको छ । संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने प्राबधान भएसँगै हाल प्रतिनिधि सभा नरहेका कारण अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले अपराह्न चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

अध्यादेशमार्फत आउन लागेको बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख छ । तर प्रतिनिधिसभा नै नरहेपछि उक्त नियमावली पनि मिचिएको छ ।

प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आजै बजेट ल्याउने भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित