यसकारण भयो राष्ट्रपति भण्डारीको भारतमा अपमान

Bidhya-Bhandari-india-visit-1काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण नै विवादमा परेको छ । छिमेकी देश भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेकी राष्ट्रपतिलाई पहिलो गासमै ढुंगा लागेको छ । भारतले कनिष्ठ राज्यमन्त्रीलाई स्वागत गर्न पठाएर राष्ट्रपतिको मात्र अपमान गरेको छैन्, सम्पूर्ण नेपालीको नै शिर निहुराउने काम गरेको छ । राष्ट्रपति भण्डारीको दिल्लीमा अपमान भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत दुःख व्यक्त गरेका छन् ।सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी राष्ट्रपति भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री कृष्ण राजबाट स्वागत गराएर भारत सरकारले अपमान गरेको भन्दै सर्वत्र आलोचना भएको छ । राष्ट्रपति भण्डारीको अपमान भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सन्देश पठाउँदै घटनाप्रति दुःख व्यक्त गरेको बताइएको छ । आफ्नो सन्देशमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई छिटो भन्दा छिटो स्वदेश फिर्ता बोलाउन राष्ट्रपति कार्यालयलाई आग्रह समेत गरेका छन् । भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा नै दिएर राष्ट्रपति आफैले स्वागत गरेपनि नेपालका राष्ट्रपतिलाई कनिष्ट राज्यमन्त्रीले स्वागत गरेर अपमान गरेको भन्दै अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । भारत जानुअघि राष्ट्रपति भण्डारीलाई निकै तामझामका साथ त्रिभुवन विमानस्थलबाट विदाई गरिएको थियो । ३३ सदस्यीय टोलीसहित भारत गएकी भण्डारीलाई भारतको विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेको तस्वीर देखेर धेरै नेपालीको मन कुँडिएको छ । नेपालको सार्वभौमसत्ता सम्पन्न देशका राष्ट्रपति राष्ट्रपतिलाई भारतमा एउटा कनिष्टस्तरको मन्त्रीबाट स्वागत हुनुले भारतले नेपाललाई हेर्ने नजर प्रष्ट भएको छ । जबकी गत कात्तिकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनको स्वागतका लागि भने नेपालका राष्ट्रपति भण्डारीसहित सबै उच्च पदस्थ व्यक्तिहरु स्वागतका लागि त्रिभुवन विमानस्थल पुगेका थिए । मुखर्जी आएको हर्षबडाईंमा सरकारले सार्वजनिक विदा समेत दिएको थियो । नेपालका राष्ट्रपति भारतमा जाँदा सार्वजनिक बिदा दिने त सपनाकै कुरा भयो, तर अति नजिकको छिमेकी नेपाललाई भारतले यतितल्लो स्तरको व्यवहार गरेको छ कि जसले सार्वभौम नेपालको आत्मसम्मानमा ठेस लागेको छ । एकसाताअघि मात्रै बंगलादेशको प्रधानमन्त्री हिसिना शेख भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् विमानस्थलमा पुगेर उनको स्वागत गरेका थिए । जसले भारतमा निकै ठूलो चर्चा पाएको थियो । उनको भ्रमणमा भारतले देखाएको सम्मानले बंगलादेश भारतप्रति निकै सकारात्मक बनेको थियो । तर, नेपालको राष्ट्रपति जाँदा भने भारतले सरकारकै अति ‘जुनिएर’ मन्त्रीलाई पठाएर नेपालको हैसियत देखाइदिएको छ । भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा समेत विदेशमन्त्री शुष्मा स्वराज आएकी थिइन् । ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न पनि विदेशमन्त्री स्वराज नै आएकी थिइन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतमा झन् तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह नै बिमानस्थलमा आएका थिए । तर, यसपटक भारतले नेपालकी राष्ट्रपतिलाई राज्यमन्त्री पठाउनु संयोगमात्रै होइन् । उसको हेपाहा नीतिको निरन्तरता हो । भारतमा राष्ट्रपति भण्डारीको अपमान हुनुमा स्वयम् नेपाल सरकार र नेपाली नेताहरु दोषी छन् । नेपालको नुन खाएर भारतको पाउ मोल्ने भारतीय दलाल प्रवृत्तिको पनि यसमा ठूलो हात छ । जनकपुरको जानकी मन्दिरमा नेपालका राष्ट्रपति पूजा गर्न जाँदा नानाथरी गाली गर्ने तर भारतीय राष्ट्रपति त्यहाँ जाँदा भव्य स्वागत सत्कार गर्ने दलाल प्रवृत्तिका नागरिकका कारण नेपालीमाथि भारतले यसरी अपमान गरिरहेको छ ।

फोरकोर्टमा मुखर्जी र मोदीको ‘विशेष सम्मान’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् । उनले भनेका छन्घ–‘निष्ठ छिमेकिलाई विशेष सम्मान । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन फोरकोर्टमा आलंकारिक स्वागत ग्रहण गर्नुभएको छ ।’ तर, यसअघि विमानस्थलमा भने भारतले अपमान गरिसकेको छ । राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच साँझ साढे ७ बजे भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्नेछन्, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ । मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र विहीबार गुजरातमा बस्नेछिन् । उनले त्यहाँ सोमनाथ मन्दिर, द्वारिकाधीश मन्दिर आदिमा तीर्थाटन गर्नेछिन् । त्यस्तै उडीसामा विहीबार राष्ट्रपतिले लिंगराजा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहाँ उनले महिला सुदृढीकरण परियोजनाको अवलोकन गर्नेछिन् । राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै नेपाल र्फकने कार्यक्रम रहेको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कोसेलीका रुपमा पशुपतिनाथको चन्दन उपहार लगिदिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित